इटहरीः इटहरी सरकारले उपमहानगरभित्रका बाल शिक्षक र विद्यालय कर्मचारीहरुलाई स्थानीय तहबाट उपलव्ध गराउँदै आएको तलवमा १५ प्रतिशतले वृद्धि गरेको छ ।
स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै उपमहानगरकी उपमेयर संगीता कुमारी चौधरीले तलव वृद्धिको घोषणा गरेकी हुन् ।
उपमहानगरले इटहरी २० मा रहेको बहुभाषी खेलमैदान, इटहरी २ मा रहेको बुढासुव्वा खेलमैदान, वडा नम्बर ३ मा रहेको खेलमैदान, वडा नम्बर ५ मा रहेको जनता क्याम्पसको खेलमैदान, वडा नम्बर १५ मा रहेको खेलमैदान र वडा नम्बर १९ मा रहेको खेलमैदानको स्तरउन्नती गरी बैकल्पिक खेलमैदानको रुपमा विकास गर्ने नीति समेत अघि सारेको छ ।
इटहरी सरकारले एसियाली गेम, साफ गेम तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक र कास्य पदक जितेका इटहरीमा बसोबास गर्ने खेलाडीहरुलाई उचित नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम समेत अघि सारेको छ ।
खेलक्षेत्रलाई प्राथमिकता दिँदै इटहरी सरकारले मेयर कप, मदनभण्डारी गोल्डकप फुटवल प्रतियोगिता तथा अन्य खेलकुदका प्रतियोगिता सन्चालन गर्ने बताउँदै नगरभित्रका प्रत्येक विद्यालयहरुमा बार्षिक प्रतियोगितात्मक खेलकुद कार्यक्रम आयोजना गरी छानिएका खेलाडीका बिचमा प्रतिस्पर्धा हुने गरी इटहरी स्कुल ओलम्पिक खेलकुद प्रतियोगिताको आयोजना गरिने बताएको छ ।
यस्तै राखेप तथा स्वयंसेवक प्रशिक्षकसँगको सहकार्यमा सामुदायिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुलाई सेल्फ डिफेन्सको तालिम दिने व्यावस्था समेत दिने नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरिएको छ ।