इटहरीः इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता कुमारी चौधरीले शुक्रबार आगामी आर्थिक बर्ष २०७९/०८० का लागि २ अर्व १८ करोड ६ लाख १० हजार रुपैँयाको बजेट प्रस्तुत गरेकी छन् ।
उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलको सभापतित्वमा सम्पन्न उपमहानगरको ११ औँ नगरसभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर चौधरीले अघिल्लो आर्थिक बर्षभन्दा ६१ लाख रुपैँया बढिको बजेट प्रस्तुत गरेकी हुन् ।
उपमहानगरको अघिल्लो आर्थिक बर्षमा २ अर्व १७ करोड ४५ लाख रुपैँयाको बजेट विनियोजन गरेको थियो ।
आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर चौधरीले इटहरीको बुढीगंगा जमुना मुक्ति घाटको थप विकास गरी धार्मिक पर्यटकिय क्षेत्रको रुपमा संरक्षण र सम्वर्दन गर्ने, थारु जातिलाई इटहरीको पहिलो जातिको रुपमा सुचिकृत गर्ने र ग्रामथानहरुको संरक्षण र सम्र्बधन गर्ने र थारु जातिको विकासका लागि ३० लाख रुपैँया विनियोजन गरेको बताइन् ।
यसैगरी इटहरी उपमहानगरले विभिन्न जात जाति र धर्म संस्कृति परम्परा अनुसार शव दाह स्थलको यथोचित विकास गर्ने र घरदेखि घाट सम्म कार्यक्रम लागू गरी नगरले आफ्नै खर्चमा २ वटा शव वहान खरिद गर्ने नीति सार्वजनिक गरेको छ ।
बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै उपमेयर चौधरीले घरदेखि घाटसम्म कार्यक्रम सञ्चालन गरी २ वटा शव वहान खरिद गर्ने र इटहरी नगरक्षेत्रभित्रका नागरिकको मृत्यु भएको खण्डमा शवलाई स्थानीय घाटसम्म निःशुल्क पुर्याउने प्रर्बन्ध गर्ने समेत व्यवस्था मिलाउने बताइन् ।