इटहरीः खोटाङको बाराहपोखरी गाउँपालिका ५ स्थित दुधकोशी नदीको बगरको खाल्डोमा शंकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भएसगै कर्तब्य गरी हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका ३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खडका रहेका छन् । बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडी गली सकेको शंकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानी खुट्टा घर भई हाल इटहरी उपमहानगरपालिका १६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका रहेको भन्ने खुल्न आए संगै हत्यामा संलग्न रहेका नाती निर बहादुर खडकालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
हजुरआमाको कर्तब्य गरी मारी भागी फरार रहेका खडकालाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टा स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकीछिपि बसिरहेको अवस्थामा असार ८ गते बिहान पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।