धरान: सुनसरीको धरान ११ को मितेरी स्पोर्टस सेन्टरले असार १४ गतेदेखि प्रदेशस्तरीय बी क्याटेगोरी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बिहीबार सेन्टरले धरान ११ स्थित मितेरी स्पोर्टस सेन्टरमा असार १४, १५ र १६ गते बी क्याटेगोरी फुटसल प्रतियोगिता हुने पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । सेन्टरका सञ्चालक लुकेन्द्र राईका अनुसार बी क्याटेगोरीका खेलाडीहरुलाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । उनले क्याटेगोरी नछुट्याउँदा उत्कृष्ट खेलाडीहरुले मात्र अवसर पाउने भएकाले अन्य खेलाडीहरुलाई पनि अवसर दिने आफ्नो उद्देश्य रहेको बताए ।

20220623_120223

प्रतियोगितामा प्रदेश नं १ का खेलाडीहरुका ३० समूहको सहभागिता हुनेछ । गत वर्ष फुटसल राष्ट्रिय लिग ए डिभिजन नखेलेका खेलाडीहरु पनि प्रतियोगितामा सहभागी हुन पाउनेछन् । तर लिग खेलेका २ जना मात्र खेलाडीहरु प्रतियोगितामा एउटा टिमबाट सहभागी हुन पाउने उनले बताए । प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट नवखेलाडीलाई पनि पुरस्कार दिइने राईले बताए ।

अहिलेसम्म कुनै पनि प्रायोजक नभएको उनले बताए । उनले आफ्नै खर्चमा प्रतियोगिता गरिरहेको बताए । उनले भने, ‘नाफा मात्र खोज्ने होइन, समाजलाई पनि केही दिउँ भन्ने हो ।’ आउँदो वर्ष ४ वटा फुटबल र २ वटा ब्याडमिन्टन प्रतियोगिता गर्ने पनि राईले जानकारी दिए ।