इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न लगाइएको र उपमहानगरले राख्ने तयारी उपमहानगरले गरेकोप्रति नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ ।
नगरप्रमुख हेमकर्ण पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले आपत्ति व्यक्त गरेको हो । अहिले देश लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअन्तर्गत सञ्चालित रहेको र नेपाली जनताको निकै लामो संघर्ष र बलिदानबाट प्राप्त संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धिलाई सँस्थागत गर्ने पहिलो जिम्मेवारी तीन तहको सरकारको रहेको भन्दै महासंघले यी उपलब्धिमा कहिँकतैबाट क्षयीकरण नहुने विश्वास महासंघले व्यक्त गरेको छ ।
निरङ्कुशतालाई प्रश्रय दिने किसिमका सुशुप्त गतिविधिमा तत्काल रोक लगाउन आवश्यक भूमिका निर्वाहका लागि महासंघले नगर सरकारलाई अनुरोध गरेको छ ।