इटहरीः झापाको कमल गाउँपालिका–६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
हिजो दिउँसो ११ बजे मे.१ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टँदा सिटीमा सवार रहेका उर्लाबारी नगरपालिका–८ मोरङका ३२ बर्षीय डिल्लीराम घोर्साने घाइते भएका थिए । घाइते घोर्सानेलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाइएकोमा अस्पतालमा उपचार हुन नसकी घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न सिटी र चालक दमक नगरपालिका १० झापाका लिलाबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए ।