इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले विद्यालयमा शिक्षक कर्मचारीबाट समयको परिपालना र नियमितता भए नभएको यकिन गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने भएको छ ।
शुक्रबार स्थानीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले विद्यालयका शिक्षक तथा कर्मचारीमाथि विद्यालयमा उपस्थिति र समयको परिपालनालाई लिएर हुने गरेका नकारात्मक टिकाटिप्पणी अन्त्य गर्न र पेसाप्रति पूर्ण बफादार भई अध्यापन कार्यमा संलग्न हुँदै शिक्षण सिकाइको गुणस्तर वृद्धि गर्न प्रेरित गर्नका लागि इ हाजिरीको व्यवस्था मिलाउन लागिएको बताएका हुन् ।
त्यस्तैगरी, नगरपालिकाले नगरभरिका सबै सामुदायिक तथा सँस्थागत विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म एकै प्रकारको स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्ने भएको छ । यसै वर्षदेखि स्थानीय पाठ्यक्रम निर्माणका लागि बजेट विनियोजन गरेको नगरप्रमुख चौधरीले बताएका छन् । त्यसैगरी, नगरपालिकाभरिका सबै सरकारी विद्यालयका शिक्षकहरुका लागि मासिक तलब निकासाको लागि पहल गर्नेसमेत नीति तथा कार्यक्रमले बोलेको छ । नगरपालिकालेले नगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्ध र प्रोत्साहनका लागि निरीक्षण गरी आधारभूत र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २ वटा विद्यालयलाई नगर उत्कृष्ट शिक्षा पुरस्कारसमेत प्रदान गरिने बताएको छ ।