बराहक्षेत्रः गत जेठ २३ गते बराहक्षेत्र नगरपालिकाको पहिलो साप्ताहिक पत्रिका कोसीसम्मान साप्ताहिकले आयोजना गरेको पत्रकारिता तालिम समापन समारोहका प्रमुख अतिथि नगरप्रमुख रमेश कार्की थिए । समारोहलाई सम्बोधन गर्दै मेयर कार्कीले चालू आर्थिक वर्षको बजेटमा यहाँको मिडिया जगतलाई समेट्ने भाषण गरे ।

उनले भनेका थिए, ’ढुक्क हुनुस्, नगरको आगामी बजेटले मिडिया क्षेत्रलाई समेट्नेछ ।’ सोही कार्यक्रममा विशिष्ट अतिथि बनेर आएकी उपप्रमुख नन्दाकुमारी राईले समेत नगर सरकारले सकेको सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन् । चक्रघट्टीमा भएको समापन समारोहमा ग्रामीण पत्रकार समूह बराहक्षेत्रका अध्यक्ष एवं कोसीसम्मान साप्ताहिकका सम्पादक हिरण्य कार्की,  नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला सदस्य सुबिन विश्वकर्मा, प्रेस चौतारी नेपाल बराहक्षेत्रका अध्यक्ष लक्ष्मण कटुवाल, नेपाल प्रेस युनियन बराहक्षेत्रका अध्यक्ष संगम बिष्ट लगायतले यहाँको मिडिया क्षेत्रको समस्या र चुनौतीबारे सुझाउँदै नगर सरकारबाट मिडियालाई सहयोग हुनुपर्ने माग राखेका थिए । कार्यक्रममा सबै वक्ताहरुको माग सुनिसकेपछि मेयर र उपमेयरले मागको सम्बोधन गर्ने प्रतिबद्धता गरे । यद्यपि त्यसलाई व्यवहारमा लागु गर्न भने नगर सरकार चुकेको छ ।

286883263_395553695937568_9212325551206819717_n

गत मंगलबार १० औँ नगरसभाले नगरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गर्यो । तर त्यसमा मिडिया क्षेत्रलाई समेटिएको छैन । ’जनप्रतिनिधि नयाँ भएकाले केही कुराहरु छुटफुट हुनसक्छन्’, ग्रामीण समूहका अध्यक्ष हिरण्य कार्की भन्छन्, ’तर यहाँका कर्मचारीहरुको मनसायअनुरुप नीति तथा कार्यक्रममा मिडियालाई समेटिएन ।’ जनप्रतिनिधिहरुले समेत अन्य सबैजसो क्षेत्रलाई सम्बोधन गर्दैगर्दा सञ्चार शब्द मात्र पनि नसमेटिनु दुःखद भएको उनको भनाइ छ । नगर सरकार स्रोतका अनुसार नीति तथा कार्यक्रममा नसमेटिए पनि नगरको बजेट किताब (रातो किताब) भित्र समेटेर जाने बुझिएको छ । नीति तथा कार्यक्रम सकिएलगत्तै एक सार्वजनिक कार्यक्रममा मेयर कार्कीले भनेका छन्, ’भुलवश नीति तथा कार्यक्रममा स्थानीय मिडिया क्षेत्र नसमेटिएको भएपनि रातो किताबमा बजेट विनियोजन भएर आउनेछ ।’