इटहरी: नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवझैँ यस वर्ष २०७९ को कविता महोत्सवमा इटहरीकी कवयित्री टीका आत्रेयको कविताले प्रथम पुरस्कार जित्न सफल भएको छ ।
आत्रेयको ‘संकल्प’ शीर्षकको कवितालाई नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा प्रथम भएको घोषणा गरेको हो । प्रतियोगितामा धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ कविता दोस्रो भएको छ भने , भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’ शीर्षकको कविता तेस्रो भएको छ । सुनसरीले प्रथमसँगै तेस्रो पुरस्कार पनि हात पारेको छ ।

सुनसरीका कवि किरण शिवाको ‘बुवाको सिलाइ मेसिन’ तथा अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ कविता तेस्रो भएर पुरस्कार हात पारेका छन् । सुनसरीको इटहरी बस्ने प्रथम पुरस्कार विजेता टिका आत्रेय विभिन्न साहित्यिक कार्यक्रममा अग्रणी भूमिकामा देखिँदै आएकी छन् ।