इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले सार्वजनिक महत्वका कार्यक्रममा आयातित फूलको प्रयोग नगर्ने घोषणा गरेको छ ।
नगरपालिकाको १२ औँ नगरसभामा रामधुनी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगरप्रमुख शंकरलाल चौधरीले आयातित फूलको प्रयोगलाई पूर्ण रुपमा प्रतिस्थापन गर्ने नगरको अभियानस्वरुप आयातित फूलको प्रयोग नगर्ने बताएका हुन् । नगरले स्थानीय फूलमालालाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत सञ्चालन गर्ने बताएको छ । नगरपालिकाले फजुल खर्च नियन्त्रण गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न यस्तो नीति लिएको पनि नगरप्रमुख चौधरीले बताए ।
नगरपालिकाले विभिन्न सार्वजनिक कार्यक्रम गर्दा मायाको चिनो, खादाजस्ता वस्तुमा फजुल खर्च भएको निस्कर्ष निकाल्दै आगामी आर्थिक वर्षबाट यस्ता खर्चलाई कटौति गर्दै लगिने नगरसभामा नगरप्रमुख चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले प्रष्ट पारेको छ । रामधुनी नगरले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्वन्वय गरी नगरपालिकाका सम्पूर्ण सवारीसाधनको मर्मत सम्भारको टेण्डर आविष्कार केन्द्रलाई दिने नीतिसमेत अगाडि सारेको छ ।