इटहरीः सुनसरीको इनरुवा नगरपालिकाका स्थानीयले इनरुवा दुहबी सडकको पुनःनिर्माणका लागि संघर्ष समिति बनाएर सरकारमाथि दबाब बढाउन सुरु गरेका छन् ।
सडक मर्मतसम्भार गरेर मात्र सञ्चालनमा ल्याउन नसकिने अवस्था आएकाले इनरुवा १ र ५ नम्बर वडाका प्रभावित स्थानीयहरु संघर्ष समितिमार्फत् सडक पुनःनिर्माण गराउन अग्रसर भएका हुन् । एक वर्षको अवधिमा ६ पटक गरिएको मर्मतसम्भारले कुनै असर नगरेको उनीहरुको भनाइ छ । इनरुवा –५ बलाहाका गोविन्दप्रसाद पोखरेलको संयोजकत्वमा ५० सदस्यीय सडक निर्माण दबाब समिति गठन गरिएको छ । समितिका सह–संयोजकमा दण्डपाणी भण्डारी, एकराज खनाल, दाताराम पोखरेल र माधवप्रसाद सुवेदी छन् ।
समितिले गढी गाउँपालिका र दुहबी नगरपालिकाका प्रभावितहरुलाई पनि जोडेर संयुक्त रुपमा दबाब दिने योजना बनाएको संयोजक पोखरेल बताउँछन् । व्यवस्थित ढल सहितको सडक निर्माण गरिनुपर्ने मागका साथ गठन भएको समितिले सरोकारवालासँग वार्ता र सम्वादका साथै धर्ना र चक्काजामसमेत गरी दबाब दिने रणनीति बनाएको छ ।