इटहरीः बिहीबार बस्ने भनिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न नसक्दा नगरप्रमुख हर्क साम्पाङ्गले छलफलका लागि पेस गर्न ठिक्क पारिएका ६ मुद्दा पेस हुन सकेनन् ।

कार्यपालिकाको बिहीबार बस्ने भनिएको बैठक बस्न नसक्दा पालिकाले गर्नुपर्ने बजेट विनियोजन नहुँदै भोलि असार १० गते नगरसभा हुने भएको छ । मेयर साम्पाङ्गले सामाजिक सञ्जालमा स्टाटस राख्दै बजेट विनियोजन छलफल गर्न नपाउँदै नगरसभा गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । कार्यपालिका बैठकमा मेयरले सवारीचालक अनुमतिपत्र नवीकरणको कार्यालयको शाखा धरानमा पनि माग गर्ने, हरेक शुक्रबार जातीय मौलिक पोसाक लगाएर विद्यार्थीहरु विद्यालय जान पाउने र जानुपर्ने, राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गर्ने विषयको प्रस्ताव राख्ने कार्यक्रम रहेको बताएका छन् ।

उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ता वडा स्तरबाटै बाँड्ने काम गर्ने र धरानको वृहत्तर विकास तथा खानेपानीमा सहकार्य गर्न चाहनेहरुका लागि सरकारी खाता खोल्ने र चलाउने अनि सर्दु जलाधारको बारेमा टुङ्गो लगाउने प्रस्ताव ठिक्क पारेको समेत बताएका छन् । धरान उपमहानगरका वडा अध्यक्षहरुले बजेट विनियोजनका बारेमा २ दिनको समय अध्ययनको लागि माग गरेपछि बजेट वक्त्तव्यबिनै उपमहानगरको नगरसभा आयोजना हुन लागेको बताइएको छ ।