फिक्कलः इलामको माइजोगमाई गाउँपालिका २ स्थित ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षकले पढाएको कुरा नजानेको भन्दै विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएका छन् ।

विद्यालयमा करार सेवामा कार्यरत शिक्षक उज्वल खतिवडाले कक्षा ६ मा अध्ययनरत छात्रा रोशिका राईलाई कुटपिट गरेका हुन् । खतिवडाको कुटपिटबाट छात्राको हात दाहिने सुन्निएको छ । उनलाई आफन्तले स्वास्थ्य सँस्थामा लगी उपचार गराएका छन् । सो विद्यालयमा शिक्षकले सबै विद्यार्थीमाथि कुटपिट गर्ने गरेको पीडित छात्राका आफन्तले बताएका छन् । यसैगरी, सोही विद्यालयका शिक्षक टङ्क भण्डारीले पनि विद्यालयमा विद्यार्थीमाथि कुटपिट गरिएको स्वीकार गरेका छन् । तर उनले छात्राको हात भने पहिल्यै मर्किएकाले सामान्य पिटाइबाटै सुन्निएको दाबी गरे । शैक्षिक गुणस्तर सुधारका लागि बोर्डिङबाट शिक्षक ल्याइएको बताउँदै उनले विद्यार्थीलाई सामान्य कुटपिट गर्नु शिक्षकको बाध्यता भएको जिकिर गरे ।

नेपालको संविधान २०७२ ले भने बालबालिकालाई विद्यालयमा यातना दिन स्पष्ट रुपमा बन्देज लगाएको छ । संविधानको घारा ३९ ले बालबालिकाको हकको व्यवस्था गरेको छ । जसको उपधारा (७) मा भनिएको छ, ‘(७) कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।’ सोही धाराको उपधारा (१०) मा भनिएको छ, ‘उपधारा (४), (५), (६) र (७) विपरीतका कार्य कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’ यस्तो स्पष्ट संवैधानिक प्रतिबन्धका बाबजुद विद्यार्थीलाई उचित प्रकृयाबाट सिकाउनै नसक्ने सरकारी तथा निजी विद्यालयका केही शिक्षकहरु विद्यार्थीलाई सिकाउनका लागि पिट्नुपरेको दलिल दिँदै निर्मम यातना दिइरहेका छन् ।