इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० बेड क्षमताको आईसीयू कक्ष थप गर्ने तयारी गरिएको छ ।

बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न थप गर्न लागिएको आईसीयूको सम्पूर्ण व्यवस्थापन सरकारको खर्चमा गर्न लागिएको हो । आईसीयूको संख्या बिरामीको चापको तुलनामा कम रहेका कारण उपचार नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएपछि त्यसलाई सम्बोधन गर्न आईसीयू थप गर्न लागिएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए ।

प्रदेशकै उत्कृष्ठ स्वास्थ्य सँस्थाहरुको सूचीमा पर्ने बीपी प्रतिष्ठानमा प्रदेशका विभिन्न जिल्लाका अतिरिक्त नेपाल तथा भारतका विभिन्न ठाउँबाट पनि बिरामीहरु उपचारका लागि आउने हुँदा आईसीयूको समस्याले अस्पतालको साखमै गिरावट ल्याउने अवस्था बनेको थियो । आईसीयू थप भएपछि गम्भीर प्रकृतिका बिरामीहरुले उचित उपचारको सुविधा पाउने अपेक्षा गरिएको छ ।