इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभामा बजेट वक्तव्यको विवरणका विषयमा छलफल चल्दै थियो । बजेट वक्तव्यमा सांसदहरुले टिकाटिप्पणी गर्ने क्रम चलिरहँदा प्रदेश सांसद कुसुम श्रेष्ठले बोल्ने पालो आयो । आफ्नो छोटो टिप्पणीमा प्रदेशकी समानुपातिक तर्फकी सांसद श्रेष्ठले सांसदहरु बच्चा नभएको टिप्पणी गर्न भ्याइन् । श्रेष्ठको उक्त टिप्पणी सरकारको प्रतिपक्षमा बसेका सांसदहरुप्रति लक्षित थियो ।
प्रदेश सरकारका अर्थमन्त्री इन्द्रबहादुर आङ्गबोले बजेट वक्त्तव्यमार्फत् प्रत्यक्ष तथा सामानुपातिक दुवै तर्फका सांसदहरुलाई विकासका माध्यमबाट जनतासँग जोड्ने कार्यक्रमअन्तर्गत प्रतिसांसद एक करोड रुपैँयाका दरले बजेट विनियोजन गरेका थिए ।
प्रदेश सरकारमा प्रतिपक्षमा बसेका सांसदहरुले उक्त विनियोजनलाई सांसद फकाउन कोषको बजेट विनियोजन गरिएको देखाएर मिडियाबाजी गरेको भन्दै सांसद श्रेष्ठले सांसदहरु बच्चा नभएको कटाक्ष प्रतिपक्षलाई गरेकी थिइन् ।
समानुपातिक र प्रत्यक्ष प्रणाली मात्र फरक भएको भन्दै श्रेष्ठले सत्तापक्ष र प्रतिपक्ष भयो भन्दैमा जुनसुकै कुरा पनि नकारात्मक ढङ्गले लिनु नहुने बताइन् । यो जनतासँग जोडिने कार्यक्रम भएकोले स्वागत गर्दा नै राम्रो हुने उनले बताएकी थिइन् । फकाउनका लागि सांसदहरु बच्चा हुन् र भन्ने संदर्भमा सांसद श्रेष्ठको उक्त भनाइ आएको हो ।
आयव्यय र बजेट वत्तव्यको छलफलमा भाग लिने क्रममा सांसद श्रेष्ठले ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट छुटाएकोमा सरकारले आन्दोलनमा परिवर्तनका खातिर बलिदानी गरेका शहीद परिवारलाई राहतस्वरुप निःशुल्क उपचारको व्यवस्था गरेकोमा अर्थमन्त्रीलाई धन्यवादसमेत व्यक्त गरिन् । महिला तथा युवा र बेरोजगारहरुका लागि यथेष्ट बजेट विनियोजन नभएको श्रेष्ठको टिप्पणी थियो ।