इटहरीः मोरङको उर्लाबारी नगरपालिका–६, पूर्व बस स्टेन्डनजिकैको एक होटलमा आज बिहान एक पुरुषको शव फेला परेको छ ।

मृत फेला पर्नेमा अन्दाजी ३७ वर्षीय रामकुमार माझी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार भारतीय नागरिकजस्ता देखिने माझीको ठेगाना भने यकिन हुन सकेको छैन । उर्लाबारीमै काम गरेर बसेका माझी गएराति कल्पना लिम्बूले सञ्चालन गरेको शौरभ होटलको बरन्डामा सुतेकोमा आज बिहान ५ः४० बजे स्थानीयले उनलाई मृत फेला पारेका थिए ।

घटनाबारे स्थानीयले दिएको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा परिचालित प्रहरी टोलीले मृतकको शव पोस्टमार्टमका लागि उर्लाबारीकै मङ्गलबारे अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरेको एसपी राईले बताए । अत्याधिक मादक पदार्थ सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको भएपनि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । मृतकका आफन्तको समेत खोजी गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।