इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले लामो रस्साकस्सीपछि अग्नि नियन्त्रणका लागि वारुण यन्त्र खरिद गरी बुधबारबाट नगरपालिकाको प्राङ्गणमा भित्राएको छ ।

नगरपालिकाले क्याटलक विधिबाट टेण्डर आव्हान गरी नगरभित्र र बाहिर आपतकालीन आगलागी नियन्त्रण गर्न वारुण यन्त्र खरिद गरेको हो । नगरपालिकाले ६० लाख सम्मको सामग्री खरिद गर्नेगरी टेण्डर आव्हान गरेकोमा ४ वटा कम्पनीले बिक्रीको आसय देखाउँदै टेण्डर प्रक्रियामा सहभागी भएको रामधुनी नगरपालिकाका योजना अधिकृत सुवोध निरौलाले बताए । निरौलाका अनुसार रामधुनी नगरपालिकाले ५९ लाख ३० हजार रुपैँयामा अशोक ली ल्याण्ड कम्पनीको वारुण यन्त्र खरिद गरेको हो । यो वारुण यन्त्रको क्षमता ५ हजार लिटर रहेको अधिकृत निरौलाले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।

damkal ramdhuni1

नगरपालिका भएपनि नगरले आफ्नो दमकल खरिद गर्न नसकेको भन्ने लामो टिकाटिप्पणीपछि नगरपालिकाले दमकल खरिद प्रक्रिया सुरु गरेको थियो । दमकल आइसकेकाले अब यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति र वारुण यन्त्र चालक समेतको पदपूर्तिका लागि नगरसभामा लैजाने र प्रक्रिया पूरा गरेपछि दमकल आपतकालीन अवस्थाका लागि सञ्चालनमा लैजाने रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले बताए । गत वर्ष रामधुनीको झुम्का बजारको म्याजिक सिनेमामा आगलागी हुँदा कोसी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, इटहरी उपमहानगरपालिका लगायतका स्थानबाट दमकल आएर आगो नियन्त्रणमा लिएका थिए । सो घटनापछि नगरलाई आफ्नै दमकल खरिद गर्न दबाब सिर्जना भएको थियो ।