इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ बाट प्रहरीले बिनाअनुमति पायल्स रोगको उपचार गर्ने कार्यमा संलग्न भएको आरोपमाा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यस्थित उत्तर चौविसे पगरवना घर भएका ३१ वर्षीय रनो तालुकदार रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार पायल्स रोगको अपरेसन तथा उपचार गरिदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुली गरेको विशेष सूचनाका आधारमा परिचालित प्रहरीले अभियुक्त तालुकदारलाई असार ६ गते उपचारमा प्रयोग हुने विभिन्न औजारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तालुकदारउपर इलाजसम्बन्धी कसुरमा कारबाहीका लागि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।