धरान: पेट्रोलियम पदार्थको मूल्यमा सरकारले चर्को वृद्धि गरेपछि जनजीविका प्रभावित भएको भन्दै सुनसरीको धरानमा सत्ताधारी दल नेपाली कांग्रेसकै भ्रातृ संगठनहरु सडकमाा उत्रिएका छन् । कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र सोही पार्टीको युवा संगठन नेपाल तरुण दलमा आबद्ध कार्यकर्ताहरुले आज दिउँसो संयुक्त रुपमा सरकारविरुद्ध सिटी जुलुस प्रदर्शन गरेका हुन् ।
सिंहदेवी चोकदेखि सुरु भएको जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी दुवै संगठनका कार्यकर्ताहरुले सिट्ठी फुकेर सरकारलाई आफ्ना मागप्रति आकर्षित गराएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै तरुण दल धरानका अध्यक्ष नरसिंह राई, नेवि संघका नेता दोर्ची शेर्पा र तरुण दल सुनसरी क्षेत्र नं १ का सचिव रोजन रणपहेलीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आफ्नै मूल पार्टीको सरकारसँग माग गरेका थिए ।
सबै वक्ताहरुले जनतालाई समस्यामा पार्ने निर्णयलाई आफ्नै पार्टी सरकारमा भएपनि समर्थन गर्न नसकिने बताएका थिए । मूल्यवृद्धि फिर्ता गर्न सरकार वा आयल निगम तयार नभए आन्दोलनलाई थप सशक्त बनाउँदै जाने उनीहरुको भनाइ थियो ।