इटहरीः मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिकामा गएराति भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलको ठक्करबाट पथरीशनिश्चरे–२ की ५० वर्षीया विमला खड्काको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार पैदल मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खड्कालाई उपचारार्थ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर पठाइएकोमा उपचारका क्रममा राति ९ः२० उनको मृत्यु भएको हो ।

दुर्घटना गराउने मोटरसाइकलका चालक भोजपुरको अरुण गाउँपालिका–७ का ३५ वर्षीय सचिन राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाएको डीएसपी तिम्सिनाको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट राईसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएको उनले बताए । यसैगरी, सुन्दरहरैँचा नगरपालिका–११ मा मोटरसाइकलबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीया देवकुमारी श्रेष्ठ रहेको डीएसपी तिम्सिनाले बताए ।

उनका अनुसार भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३३ प ४२३१ नम्बरको मोटरसाइकलबाट लडेर घाइते भएकी श्रेष्ठलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाइएकोमा चिकित्सकले तत्कालै साँझ करिब ७ः०० बजे मृत घोषित गरेका थिए । आफ्नै पति ३१ वर्षीया सन्देश श्रेष्ठले चलाइरहेको मोटरसाइकलले साइकललाई जोगाउने क्रममा अनियन्त्रित भएपछि हामफाल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।