धरानः सुनसरीको धरान उपमहानगरपालिकाको आज हुने भनिएको नगरसभा स्थगित भएको छ ।
हिजो (मङ्गलबार) बसेको नगर कार्यपालिकाको बैठकमा उपमेयर अइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा सोको प्रति आफूहरुले अध्ययन गर्न नपाएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरसभा बस्न नदिएका हुन् । उनीहरुले बजेट र नीति तथा कार्यक्रमको प्रति अध्ययनका लागि दुई दिनको समय माग गरेपछि कार्यपालिका बैठकले सो समय उपलब्ध गराउँदै नगरसभा दुई दिन पर धकेलेको हो । यो निर्णयसँगै नगरसभा असार १० गते बस्ने तय भएको छ ।
८ गते नीति तथा कार्यक्रम नगरसभामा पेस गरी १० गते बजेट प्रस्तुत गर्नेगरी निर्धारण गरिएको कार्यतालिका कर्मचारीसँग समन्वय अभाव हुँदा कार्यान्वयन हुन नसकेको एक बोर्ड सदस्यको भनाइ छ । नगरसभामा बजेट प्रस्तुत गर्ने मिति असार १० गतेका लागि सरेपछि नीति तथा कार्यक्रम, बजेट सिलिङ, आर्थिक विधेयक, विनियोजन विधेयकबारे छलफल गर्ने प्रयोजनका लागि सोको अमिघल्लो दिन असार ९ गते बिहान ८ बजे कार्यपालिका बैठक बोलाइएको उनी बताउँछन् । यसैगरी, हिजोको बैठकले मेयर हर्क साम्पाङको संयोजकत्वमा सबै कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत सम्मिलित भूउपयोग परिषद् गठन गर्ने निर्णयसमेत गरेको छ ।