ह्युस्टनः गत महिना अमेरिकाको टेक्ससस्थित एउटा विद्यालयमा भएको गोलीकाण्ड सम्बन्धी एउटा करिडोरमा सशस्त्र प्रहरी पर्खिरहेका अवस्थाका पहिलो तस्बिरहरू सार्वजनिक भएका छन् ।

उक्त घटनामा शिक्षक र विद्यार्थी गरी एक्काइस जनाको ज्यान गएको थियो । आक्रमणको खबर पाउनसाथ प्रहरी समयमै यसअघि पहिला बताइए भन्दा बढी हातहतियारले सुसज्जित भएर घटनास्थलमा आइपुगेको अमेरिकी सचार माध्यमले जनाएका छन् ।

ती तस्बिरमा प्रहरीले राइफल र दंगामा प्रयोग हुने ढाल समाएर बसेका देखिन्छन् । प्रहरीलाई सो आक्रमणका बेला समयमै हस्तक्षेप गर्न नसकेको आरोप लगाइँदै आएको छ ।

अष्टिन अममेरिकन–स्टेट्सम्यान र केभीयूई टेलिभिजनले बाहिर ल्याएको पछिल्लो प्रतिवेदनमाथि टेक्सस प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन ।

२४ मेमा रोव प्राथमिक विद्यालयको कक्षा कोठामा भएको गोलीकाण्डबारे थप विस्तृत विवरण मंगलवार टेक्सस सिनेटको सार्वजनिक सुनवाईमा प्रस्तुत गरिने अपेक्षा गरिएको छ । साल्भाडोर रामोस नामक स्थानीय अठार वर्षीय किशोरले गरेको सो आक्रमण पछि अमेरिकामा बन्दुकको नियम कानुनबारे पुनः एक पटक बहस चर्किएको थियो । -बीबीसीबाट

289039988_1952477215141759_7561731045903440500_n 1