धरानः मूल्य बृद्धि विरुद्ध धरानमा विरोध प्रदर्शन गरिएको छ । मंगलबार स्वतन्त्र नागरिक समाज धरान उपमहानगर समितिले मूल्यवृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

धरान उपमहानगरकपालिका परिसर, छाताचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लेखिएको ब्यानर र सेती, बुढीगण्डकीको नाममा पेट्रोलियम पदार्थको नाममा लगाएको कर खारेज गर, आयल निगमको चुहावट बन्द गर, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर, बढेको महंगी फिर्ता गर, सरकार तेरो पाराले दुःख पायो साराले, कमिसनखोरी, बोनसखोरी होसियारलगायतका प्लेकार्ड बोकेका थिए ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए थप विरोधका कार्यक्रम चर्काउने चेतावनी दिएका छन् । स्वतन्त्र नागरिक समाजका तर्कबहादुर मगरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थप चकाउने बताए ।

बुद्धिजीवि डा. राजेन्द्र शर्मा राजेन्द्र शर्माले संसारभर पेट्रोलको मूल्य बउद्धि भएकोमा मूल्यवृद्धिको विरोध नगरी सरकारले राहत नदिएको विरोध गरेको बताए । उनले सरकार भनेको जनतालाई राहत दिने, सेवा गर्ने निकाय भएको बताए ।

डा. शर्माले मूल्यबृद्धिको विरोध गर्दै सामाजिक संजाल फेसबुकमा समेत लेखेका छन्, ‘अन्तराष्ट्रिय बजारमा तेलको दाम बढ्यो । त्यसैले नेपालमा पनि बढ्नु स्वभाविक हो । तर कल्याणकारी राज्यको दायित्व के हो ? भने बढेको मूल्यमा सरकारले असुल्ने कर छुट दिनु ।’

‘बिहान ३ घण्टा र बेलुका ३ घण्टा खाना पकाउन बिजुलीमा प्रति युनिट ५ रुपैयाँ मात्र लिनु । नत्र के को कल्याणकारी राज्य ?’ उनले प्रश्न गरेका छन् । सरकारले पेट्रोलमा प्रति लिटर २१ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर २७ रुपैयाँ मूल्य बढाएको छ । आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ३५ पैसा तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ बनाएको छ ।