इटहरीः तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन पुगेका खेलाडी सुदीप घिमिरे दुर्गम जिल्ला खोटाङ्गको पनि दुर्गम गाउँपालिका केपिलासगढीको बाक्सिलामा भेटिए । विगत ३ वर्षदेखि खेल क्षेत्रमा लागेका घिमिरे खेलेरै जिन्दगी चलाउने सोचमा छन् तर राज्यले खेलाडीलाई जीवन धान्न सक्नेगरी सेवासुविधा दिएको घिमिरेले देखेका छैनन् । सुनसरी भुगोलबाट तेक्वान्दो खेलिरहेका सुदीप पुम्से तर्फको खेल देखाउन खोटाङ्ग पुगेका थिए । खेल प्रदर्शन गरेर सुनसरी जिल्लाको नाम रहनेगरी पुम्से तर्फको पुरुष स्पर्धामा स्वर्ण पदकसमेत हात पारे । सुदीपले इटहरी उपमहानगरको मेयर कपदेखि लिएर खेल खेल्नकै लागि काठमाडौँसम्म धाइसकेका छन् ।

बेलाबेला प्रतियोगिताबाहेक उनीहरुको समय प्रशिक्षण र पढाइमा खर्च हुने गरेको छ । किशोरावस्थाका यी खेलाडी खेलेरै जिन्दगी चल्छ भन्ने सोचमा छन् तर खेलाडीले चाहेजसरी प्रतियोगिताहरु नहुँदा खेलाडीहरुको खेलप्रतिको आकर्षण निकै कम देखिन्छ । खेलबाट नाम, अनुशासन पाइने तर पैसा भने नपाइने सुदीपले प्रदेश पोर्टललाई सुनाए । ‘खेलेरै जिन्दगी चल्छ तर पैसा भने बाहिरै छ’ सुदीपले भने ।

kheladi1

सुनसरीबाटै ४५ केजी तौल समुहको तेक्वान्दो प्रतियोगिताको लागि बाक्सिलामा पुगेका रञ्जन बस्नेत भर्खरै १६ वर्ष पुगे । यसअघि उदयपुरको कटारीमा भएको तेक्वान्दो प्रतियोगितामा दोस्रो भएका बस्नेतले इटहरीमा भएको मेयरकपमा स्वर्ण पदक जितेका थिए । केही वर्षदेखि तेक्वान्दोमा लागेका बस्नेत ठूलो राशीको प्रतियोगिता खेल्यो भने जिन्दगी जाला तर सानातिना प्रतियोगिताले केही पनि हुँदैन भन्ने निष्कर्षमा पुगेका छन् । तर खेलाडीलाई हौसला प्रदान गर्नका लागि प्रतियोगिताहरु भने भइरहनुपर्ने आवाज रञ्जनको पनि छ ।

खोटाङ्गका ज्ञान बहादुर श्रेष्ठ राष्ट्रिय स्तरको खेलमा निकै पटक सहभागी भइसकेका तेक्वान्दो खेलाडी हुन । कक्षा १२ सम्मको अध्ययन सकाएपछि खेल क्षेत्रमा समर्पित बनेका श्रेष्ठले अहिलेसम्म ४ वटा स्वर्ण पदक अर्थात गोल्ड मेडल भित्राइसकेका छन् । मेडल भित्राएपनि खेलाडीहरु आर्थिक रुपमा भने त्यत्ति माथि उठ्न नसकेको ठम्याइ श्रेष्ठको छ ।

केपिलासगढीको बाक्सिलामा भएको प्रतियोगितामा ६८ केजी तौल समुहबाट स्वर्ण पदक पाएका ज्ञानबहादुर २०७४ सालबाट तेक्वान्दोमा समर्पित भएका हुन । बाक्सिलामा श्रेष्ठले स्वर्ण पदक मात्र जितेनन्, उनी प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत घोषित भए । आफूले खेलाएर सिकाएको खेलाडीले पदक पाउँदा आफू निकै खुसी भएको बताउने ज्ञानबहादुरका प्रशिक्षक नविन राई खेलाडीले खेल खेलेरै जीवन चलाउने वातावरण अझै पनि नबनेको भनाइ राख्छन् । त्यसो त तेक्वान्दो सिकाउने आफ्नै डोजाङ्ग सञ्चालन गरिरहेका ज्ञानबहादुरसमेत घरिघरी घरको आर्थिक समस्याले विदेशै ताक्नुपर्ने हो कि भन्ने चिन्तामा समेत पुग्ने गरेका छन् ।

भोजपुर जिल्लाको टिमबाट ४९ केजी तौलतर्फ तेक्वान्दोमा प्रतिस्पर्धा गर्न बाक्स्लिा पुगेकी सुस्मिता राई पहिलो पटक प्रतियोगितामा भिड्दै थिइन् । पहिलो पटक भएकाले केही नर्भस जस्तो देखिएकी सुस्मिता ४ महिलाबाट तेक्वान्दो सिक्दै थिइन । सुस्मितालाई प्रशिक्षण दिने नियोज राई राम्रो भविष्य बनाउने अन्य बाटो भएता पनि यहीँबाट भविष्य बनाउने योजनासहित आफू तेक्वान्दोमा लागेको बताउँछन् ।

खेल क्षेत्रबाटै भविष्य खोज्ने रञ्जन, ज्ञानबहादुर र सुदीप मात्र होइनन् यी त प्रतिनिधि पात्र मात्र हुन् । भाषणका क्रममा हरेक सांसद तथा मन्त्री र जनप्रतिनिधिसमेत खेल क्षेत्रलाई माथि उठाउनुपर्ने भनाइ त राख्छन् तर के गर्दा खेल क्षेत्र माथि जान्छ त्यो भने सोचेका छैनन् । लामो समयदेखि सुस्ताएको प्रदेशको खेल क्षेत्र पछिल्लो २ महिनादेखि भने केही सक्रिय देखिन थालेको छ । धेरैजसो सुगम जिल्ला र शहरमा हुने खेलसम्बन्धी प्रतियोगिता र कार्यक्रमहरु विस्तारै गाउँसम्म पुग्न थालेका छन् । तर खेलाडीलाई खेल सामग्रीहरु उपलब्ध नहुँदा प्रशिक्षणहरुसमेत प्रभावित हुने गरेको पाइन्छ ।

खोटाङ्ग जिल्लाबाटै कराँतेमा राष्ट्रिय खेलाडी बनेका नवीन राई प्रतियोगिताहरु नै नहुँदा चिन्तामा देखिन्छन् । केपिलासगढी गाउँपालिकाले पहिलो पटक पालिका कप आयोजना गरेको स्मरण गर्दै राई संघ, प्रदेश र स्थानीय सरकारले प्रतियोगिताहरु बारम्बार गरेर खेलाडीलाई हौसला दिनुपर्ने भनाइ राख्छन् । सबै प्रकारका खेलका गतिविधिलाई स्थान दिएर धेरैभन्दा धेरै प्रतियोगिताहरुको आयोजना गर्ने आफूहरुको उद्देश्य रहेको प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्यसचिव हंशराज वाग्लेको भनाइ छ ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङ्गको संयोजनमा भएको प्रदेश १ को जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता गराउन प्रदेशबाट बोर्डका सदस्य शैलेशकुमार बिष्टको संयोजकत्वमा टोली खोटाङ्ग पुगेको थियो । टोलीमा प्रदेश १ तेक्वान्दो संघका पदाधिकारीसहित खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

289039988_1952477215141759_7561731045903440500_n 1