इटहरीः मोरङको मिक्लाजुङ गाउँपाकिला ४ की एक १४ वर्षीया बालिका गर्भवति भएपछि उनको बलात्कार भएको रहस्य खुलेको छ ।
बालिकालाई बङ्गुरका लागि चारो खोज्न जङ्गलमा गएका बेला २०७८ साल माघ २६ गते मिक्लाजुङ ४ का ४४ वर्षीय छविराज चाम्लिङ राईले बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अभियुक्त राईले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएका कारण बालिकाले घटनाबारे कसैलाई नबताएकोमा चार महिनापछि स्वास्थ्यमा समस्या आई जाँच गराउँदा गर्भ रहेको खुलेको हो ।
यता, बालिका गर्भवति भएको सार्वजनिक भएसँगै अभियुक्त राई भने फरार भएका छन् । उनको खोजी जारी रहेको डीएसपी श्रेष्ठको भनाइ छ । बालिकाले बताएअनुसार बालिकाका बुबाले अभियुक्त राईविरुद्ध जबर्जस्ती करणी कसुरमा किटानी जाहेरी दिइसकेको बताउँदै डीएसपी श्रेष्ठले डीएनए परीक्षण गरी गर्भ अभियुक्त राईको भए नभएको यकिन गर्ने र उनीउपर कानूनी कारबाही चलाउने प्रकृया सुरु गरिसकिएको जानकारी दिए ।