इटहरीः वैशाख ३० गते स्थानीय तह निर्वाचनको दिनदेखि बेपत्ता भएकी इटहरी १६ की १५ वर्षीया बालिका अस्मिता चौधरी भारतमा सुरक्षित फेला परेकी छन् । प्रहरीका अनुसार उनलाई हरियाणा र पन्जाब राज्यको सीमा क्षेत्रबाट भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा केही दिनअघि एक गाउँबाट उद्धार गरिएको हो ।
चौधरीलाई अहिले भारतकै एक सेफ हाउसमा राखिएको छ । उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनलाई लिन इटहरीबाट उनका आफन्त र प्रहरीको टोली बुधबार भारत जाँदैछ ।
बालिका बेपत्ता भएयता इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रविन्द्र थापा आफैँले खोजतलासको कमान्ड गरेका थिए । मोरङको सीमा नाका हँुदै अस्मितालाई काका लालु चौधरीको सहयोगमा विराटनगरका दिनेश मण्डलले भारत कटाएको अनुसन्धानबाट खुलेको थियो । प्रहरी निरीक्षक थापाले बालिकाको खोजीको लागि प्रहरी हेडक्वार्टर, सीआईबी र भारतीय प्रहरीसँग प्रत्यक्ष पहल गरेका थिए ।
‘हामीले बालिकालाई सुरक्षित फेला पार्न सक्यौँ, उनी अहिले सुरक्षित स्थानमा छिन् । हाम्रो टोली उनलाई लिन भारत जाने तयारीमा छ’ थापाले भने, ‘यसमा भारतीय प्रहरीको ठूलो सहयोग छ ।’
बालिका सुरक्षित फेला पार्न सफल भएपनि उनलाई त्यहाँसम्म पुर्याउने विराटनगरका दिनेश मण्डल भने फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । काका लालु र अर्का एक सहयोगी भने प्रहरी हिरासतमा छन् ।
बालिकालाई काका लालु चौधरीले एक जना झाँक्रीसँग फूलपाती सेलाउन कोसी नदी जानुपर्छ भनेर घरबाट लिएर गएका थिए । तर उनलाई झुक्याएर दिनेश मण्डल र काकाले बाइकमा राखेर विराटनगरको शनि मन्दिर हुँदै भारत कटाएका हुन् ।