इनरुवाः आफै इनरुवा नगरपालिकाको मेयर हुँदा जिल्ला समन्वय समिति सुनसरीसँग आग्रह गरी स्थापना गरेको वडा नम्बर २ को कार्यालय आफू जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएर कार्यभार सम्हाले लगत्तै राजन मेहताले खाली गर्न पत्राचार गरेका छन् ।
नवनिर्वाचित प्रमुख मेहताले कार्यालय परिसरमा रहेको वडा नम्बर २ को कार्यालय हटाउन मंगलबार निर्देशनसहितको पत्राचार गरेका हुन् ।
प्रमुख मेहताले जिससको भवनमा कार्यालय सञ्चालन गर्दै आएको वडालाई पत्राचार गर्दै एक महिनाभित्र भवन खाली गरिसक्न भनेका छन् ।
वडा नम्बर २ को कार्यालयको नाममा काटिएको पत्रमा कार्यालय रहेको भवनको कोठा आवश्यक परेको भन्दै साउन १ गते भित्रमा आफ्नो व्यवस्था मिलाई भवन खाली गर्न भनिएको छ ।
पत्र संख्या २०७८।०७९ को च।न।३३२ को भवन खाली गराइदिनहुन भन्ने शिर्षकको पत्रमा जिसस सुनसरी प्रमुख मेहताको हस्ताक्षर रहेको छ ।
सोबारे जिससले इनरुवा नगरपालिकाको कार्यालयलाई समेत जानकारी गराएको छ । नगरपालिकालाई बोधार्थ दिइएको पत्रमा भनिएको छ, “विगत लामो समयदेखि यस कार्यालय मातहतमा रहेको कार्यालय भवन प्रयोग गरी वडा कार्यालय सञ्चालन भइरहेकोमा अब उप्रान्त उक्त भवन यस कार्यालयका लागि आवश्यक परेकाले आगामी साउन १ गतेसम्ममा आफ्नो व्यवस्था मिलाई कार्यालय भवन खाली गरिदिनु हुन अनुरोध छ ।”
सो व्यहोराको पत्र इनरुवा नगरपालिकाको कार्यालयमा दर्तासमेत गराइएको छ । जिससको उक्त पत्र नगरपालिकाको अभिलेखमा मंगलबारकै मितिमा ७०१७ नम्बरमा दर्ता रहेको भेटिएको छ ।
मेहता अघिल्लो दिन सोमबार सम्पन्न निर्वाचनबाट जिसस सुनसरीको प्रमुखमा निर्वाचित भएका हुन् । मेहतासहित निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सोही दिन सपथ तथा पदभार ग्रहण गरेका थिए ।
सो वडामा अघिल्लो पटक नेपाली कांग्रेसले वडाध्यक्ष जितेको थियो । यस पटक भने कांग्रेसका उम्मेदवारञ्जेश भट्टराईलाई ११ मतले हराउँदै एमालेका विश्वनाथ ठाकुर विजयी भएका छन् ।
लामो समयदेखि जिसस परिसरको खाली भवनलाई वडा नम्बर २ ले कार्यालयका रुपमा प्रयोगमा ल्याउँदै आएको थियो । कांग्रेसको पालामा वडालाई कार्यालय सञ्चालन प्रयोजनका लागि भवन दिलाउन तथा अन्य आवश्यक बन्दोबस्त मिलाउन स्वयं तत्कालीन नगर प्रमुख मेहताले पहलकदमी गरेका थिए ।
मेहताको उक्त निर्णयलाई लिएर स्थानीय स्तरमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ । पर्याप्त कोठा तथा भवन खाली रहेको अवस्थाका बीच वडा कार्यालय खाली गर्न भनिनुलाई वडावासीले राजनीतिक प्रतिशोध भनेका छन् ।
उता जिसस प्रमुख मेहताले भने अव्यवस्थित कार्यालय र परिसरलाई व्यवस्थित बनाउने प्रयोजनका लागि वडा कार्यालयले ओगटेको भवन खाली गर्न आग्रह गरिएको बताए ।
यता वडाध्यक्ष विश्वनाथ ठाकुरले भने कार्यालय सञ्चालनका लागि छुट्टै स्थानमा कोठा खोजिने प्रतिकृया दिए ।
जिससको स्वामित्वमा रहेको वडा कार्यालय रहेको भवनमा यसअघि वर्षौदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीको कार्यालय रहँदै आएको थियो । प्रशासन नयाँ भवन बनाएर सरेपछि सो भवन खाली रहँदै आएको थियो ।
सोही खाली भवनमा वडा कार्यालय स्थापना गरिएको थियो । जिसस सुनसरीको परिसरमा यस्ता अन्य भवनहरु पनि रहेका छन् ।
स्वयं जिसस कार्यालय सञ्चालनमा रहेको भवनको माथिल्लो तहका कोठाहरु खाली छन् भने त्यसपछाडि रहेको पहिलाको प्राविधिक कार्यालयको दुई तल्ले भवन पूरै खाली छ ।
अहिले वडा कार्यालय रहेको भवनमा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको जिल्ला कार्य समितिको कार्यालय समेत सञ्चालनमा रहेको छ ।
वडा कार्यालयलाई भवन खाली गराउन भनेको जिससले युनियनको कार्यालयलाई भने त्यस्तो कुनै पत्र पठाएको छैन ।
सोही परिसरमा प्रदेश सांसद ज्योति सुब्बाको संसदीय विकास कोषको सहयोगमा निर्माण गरिएको भवनसमेत रहेको छ ।