बराहक्षेत्रः पुर्व माओवादी नेता कमलबहादुर कटवालले राजनीतिक दलहरूमा दलाल पुँजीपतिको हाबी भएकाले आफू यसबाट अलग हुने बताएका छन् । गएको स्थानीयतह निर्वाचनबाट नेकपा (माओवादी केन्द्र)त्यागेका कटवालले बराहक्षेत्रमा पार्टीभित्रै गुट उपगुटको सिकार हुने भएपछि पार्टी छोडेको बताए ।
नेता कटवाल माओवादी केन्द्र बराहक्षेत्र नगर कमिटीका निर्वतमान अध्यक्ष हुन् । गएको स्थानीयतह निर्वाचनमा बराहक्षेत्रमा माओवादीले नेपाली कांग्रेससँग गठबन्धन गर्दैगर्दा माओवादीको अस्तित्व समाप्त हुने अबस्था सिर्जना भएको भन्दै उनले पदबाट राजीनामा गरेका थिए । पार्टीको साधारण सदस्य समेत नरहनेगरी माओवादी त्यागेका कटवाललाई केही समयपश्चात् प्रदेश कमिटीले निलम्बन समेत गरेको थियो ।
चुनावमा अन्य दललाई सहयोग गरेको भनेर नेता कटवालमाथी माओवादीकै नेताहरुले आरोप लगाएका थिए । यसैबीच अब कुन दल प्रवेश गर्ने सोचमा हुनुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म मैले कुनै दलमा प्रवेश गर्ने योजना गरेको छैन्, स्वतन्त्र बसेर समाजसेवा गर्ने लक्ष्य छ, फेरिपनि राजनीति सम्भावनाहरुको खेल नै हो ।’आफ्नो बारेमा विभिन्न तह र तप्काका नेताहरुले अनावश्यक भ्रम सिर्जना गरेको भन्दै त्यसको पछी नलाग्न उनले शुभचिन्तकलाई आग्रह समेत गरेका छन् ।