खाँदबारीः लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ ।

मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरूद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए ।

सडकखण्ड अवरूद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरूद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ ।

पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए । पहिरोले मकालु ५ र ३ जोड्ने अरूण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पहिरोले पुल आसपासको भू–भाग कटान गरेपछि अरूण नदीको पुल जोखिमा परेको उनले बताए ।

लगातारको वर्षाले उत्तर दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताए । सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ ।

वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् । -रासस