इटहरीः चार दिनअघि बेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका ६ का १८ वर्षीय अफरोज मियाको हत्या भएको आशंकामा प्रहरीले उनको शवको खोजी सुरु गरेको छ ।
युवकलाई बेपत्ता पार्ने कार्यमा संलग्न भएको हुनसक्ने भन्दै तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको सुनसरी प्रहरीले आफूहरुले मियाको हत्या गरेको भन्ने पक्राउ परेका शंकास्पद अभियुक्तहरुको बयानका आधारमा नगरकै बुढीखोलामा मियाको शवको खोजी सुरु गरेको हो । आफूहरुले शुक्रबार नै मियाको हत्या गरेको बयान अभियुक्तहरुले दिएपछि शवको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले जानकारी दिए ।
शुक्रबारदेखि बेपत्ता भएका मियाका आफन्तले शनिबार दर्ता गराएको उजुरीका आधारमा आइतबार दिउँसो पक्राउ परेका अभियुक्तहरुले भनेबमोजिम शवको खोजी गर्दै जाँदा खोलाबाट मियाको कपडा फेला परेको एसपी थापाको भनाइ छ । खोजी जारी रहेकै अवस्थामा आज बिहान खोलामा बाढी आएपछि शव फेला पार्न नसकिएको उनले उल्लेख गरे ।
युवक नभेटिएसम्म थप विषय भन्न नसकिने उनले बताए ।