इटहरीः नेकपा एकीकृत समाजवादी इटहरी उपमहानगर कमिटिले आइतबार इटहरीका नगरप्रमुख हेमकर्ण पौडेललाई भेटी नगरका समस्या सहितको ३७ बुँदे ध्यानकर्षणपत्र बुझाएको छ ।
पार्टीको इटहरी नगर कमिटिका इन्चार्ज केवलप्रसाद फुयाँलको अगुवाइमा पार्टीका जिल्ला उपाध्यक्ष सुन्दरमणि राई, प्रदेश कमिटिका तारा पोखरेल, जिल्ला उपसचिव राजेश भण्डारी नगर कमिटिका अध्यक्ष गणेश बुढाथोकी लगायतले नगरप्रमुख पौडेललाई भेटी बधाइ तथा शुभकामनासमेत व्यक्त गरेका थिए ।
मेयर पदमा विजयी बनेपछि नेकपा एसका तर्फबाट बधाइ ज्ञापन गर्दै नगरका समस्याहरु समाधानका लागि ध्यानाकर्षण गराएको पार्टीका इटहरी सहइन्चार्ज रमेश खत्रीले बताए ।
ध्यानाकर्षणपत्रमा सहमतिमा काम गर्ने सँस्कार थाल्न माग गर्दै नेकपा एसले सरकारले गर्ने कामको श्वेतपत्र जारी गर्न पनि माग गरेको छ भने इटहरीमा हुने डुबान समस्यालाई समाधान गर्न तटबन्ध निर्माणलाई प्राथमिकता दिन ध्यानाकर्षण गराएको छ ।
उपमेयरका उम्मेदवारसहित गठबन्धनको एक हिस्सा बनेर चुनाव लडेको नेकपा एसले हाट बजार तथा सडक व्यापारीको उचित व्यावस्थापन माग गर्दै निर्माण क्षेत्रमा काम गर्ने मजदुरको पहिचान गरी उनीहरुलाई शिक्षा, स्वास्थ्य निशुल्क हुनेगरी व्यवस्था मिलाउनसमेत माग गरेको छ ।
किसानका लागि मल तथा बिउको व्यवस्थापन, शहरी भूभागका वडालाई कौसी खेतीमा प्रोत्साहन लगायतका कार्यक्रम ल्याउनुपर्ने कुरासमेत ध्यानाकर्षणपत्रले बोलेको छ । इटहरीको रंगशालालाई प्रदेश १ कै गहनाको रुपमा व्यावस्थित गर्न माग गर्दै इटहरीलाई स्पोर्ट सिटिको अवधारणाअनुसार लैजानुपर्नेसमेत नेकपा एकीकृत समाजवादीको माग छ ।
पार्टीका नगर अध्यक्ष गणेश बुढाथोकीको हस्ताक्षरसहित ३७ बुँदामा समेटिएको ध्यानाकर्षणपत्रले पत्रकारहरुको लागि लेखनवृत्ति कार्यक्रमको निरन्तरता माग गर्दै पत्रकार कल्याणकारी कोषको व्यवस्था गर्न मेयरको ध्यान आकृष्ट गरेको छ ।इटहरी उपमहानरमा सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा प्रवाहका लागि सहायता कक्षको व्यवस्था गर्न, छुवाछुतलाई अन्त्य गर्दै विभिन्न धर्मावलम्बीको मठमन्दिरको संरक्षण गर्दै इशाई धर्मावलम्बीको लागि समाधिस्थलको व्यवस्था गर्नसमेत पार्टीले माग गरेको छ ।
स्वास्थ्य बीमाको बारम्बार रिफर लिनुपर्ने व्यवस्थाको अन्त्य गर्न, साथै शिक्षा क्षेत्रमा अंग्रेजी माध्यमलाई गुणस्तरीय बनाउन माग गर्दै नेकपा एकीकृत समाजवादीले क्याम्पसमा अध्ययनरत छात्राहरुको लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्नसमेत माग गरेको छ ।
ध्यानाकर्षणपत्र बुझाएपश्चात प्रदेश पोर्टलसँग कुरा गर्दै पार्टीका नगर इन्चार्ज फुयाँलले गठबन्धनकै मेयर भएकाले पनि जनअपेक्षा पूरा हुने आशा रहेको बताए । आफूहरुको मागभन्दा पनि जनताको जनजीविकासँग जोडिएका माग भएका कारण केही तत्काल गर्न सकिने र प्राथमिकताको आधारमा पाँच वर्षसम्म गर्नुपर्ने कामको सूचिसहित नगरप्रमुखलाई ध्यानाकर्षण गराइएको पार्टीले जनाएको छ ।