इटहरीः सुनसरीको इटहरीमा नमुना विद्यालयका रुपमा चिनिने जनता माध्यमिक विद्यालयमा भएको चलखेल र विद्यालय व्यवस्थापन समिति गठनको मुद्दालाई लिएर ७२ घण्टे अल्टिमेटम दिएको विद्यार्थी संगठन र विद्यालय प्रशासनबीच तीन बुँदे सहमति भएको छ ।

विभिन्न विद्यार्थी संगठनले विद्यालयमा आर्थिक चलखेल भएको हुनसक्ने भन्दै निष्पक्ष छानबिन र विद्यार्थीलाई दिइने खाजा खर्चमा अनियमितता र विद्यालय व्यवस्थापनको गठनको विषयलाई लिएर विद्यालयको ध्यानाकर्षण गराएका थिए । 

आइतबार राति भएको सहमतिमा यातायात व्यवस्थापन र दिवा खाजा व्यवस्थापनको लागि छलफल गरेर समाधानका उपाय खोज्ने, अविभावकहरुले विद्यार्थी पढाउँदा बुझाउनु परेको शुल्कको विषयमा सरोकारवालाहरुसँग छलफल गरी सुझावका आधारमा अघि बढ्ने र शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न विद्यार्थी संघका प्रतिनिधिहरु रहेको तीन सदस्यीय समिति बनाउने निर्णय गरिएको छ । उपसमितिको संयोजकमा अतितकिरण नेपाल रहेका छन् भने सदस्यहरुमा नवीन दाहाल, उज्वल सिग्देल र नवीन कट्वाल रहेका छन् ।

agreement between school and students.

सहमतिअनुसार सुधारका लागि विद्यालय तयार नभए सशक्त आन्दोलन गर्ने चेतावनी संगठनहरुले दिएका छन् । विद्यालयको व्यवस्थापन समिति गठन अवैधानिक भएको, मनोमानी कर्मचारी नियुक्त गरिएको, विद्यालयले अंग्रेजी माध्यमको लागि चर्को शुल्क लिइरहेको र सेवा सुविधा भने सोअनुसार नदिएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले इटहरी उपमहानगरको शिक्षा महाशाखालाइृ बोधार्थ गर्दै ७२ घण्टे अल्टिमेटम दिएको थियो । यसै विषयमा अख्तियारमा उजुरीसमेत परेको थियो ।