सुनसरीः सुनसरी जिल्लाका प्रहरीका थुनुवा कक्षहरुमा क्षमताभन्दा बढी थुनुवाहरु राख्नु पर्ने स्थिति देखिएको छ ।
सुनसरीका ईलाका प्रहरी कार्यालयहरु धरान, इटहरी, महेन्द्रनगर, पकली र दुहवीका थुनुवा कक्षहरु अप्रयाप्त रहेको र अपराधका घटनाहरु बढ्दै जाँदा विद्यमान संरचनाको समस्याका कारण क्षमताभन्दा बढी थुनुवाहरु राख्नु पर्ने स्थिति रहेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक सञ्जय सिंहथापाका अनुसार सुनसरीका ५ स्थान मध्ये सबैभन्दा बढी थुनुवाहरु धरानमा रहेको र इटहरी, दुहबी, पकली र महेन्द्रनगरमा पनि हिरासत कक्षको क्षमताभन्दा बढी थुनुवा रहेका छन् । केही स्थानमा हिरासत कक्षको केही सुधार भए पनि अरू केही ठाउँमा क्षमता भन्दा बढी थुनुवा राख्नुपर्ने बाध्यता रहेको एसपी थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले नयाँ भवन निर्माण गरेकोले अहिले थुनुवा राख्ने समस्या तत्कालको लागि अन्त्य भएको छ ।थापाका अनुसार धरानमा अरू ठाउको भन्दा स्वाभाविक हिसाबले धेरै थुनुवा हुने गर्दछ । धरान अरू क्षेत्रको तुलनामा बढी आपराधिक गतिविधि हुने क्षेत्र हो । धरानमा सबैभन्दा बढी लागुऔषध सम्बन्धीको अपराध हुने भएकोले लागुऔषधको अनुसन्धान अवधि ३ महिना सम्म रहने भएकोले हिरासत कक्षमा लामो समय सम्म थुनुवा राख्नुपर्दा हिरासत कक्ष साँगुरो हुने गरेको प्रहरीले बताएको छ ।
धरानमा हिरासत भवन निर्माणाधीन अवस्थामा रहेकोले ईलाका प्रहरी कार्यालय धरानमा थुनुवालाई व्यवस्थित गर्न नसकिएको हो । अर्को भवन निर्माण सम्पन्न भएको खण्डमा धरानमा त्यस्तो समस्या हुँदैन । धरानमा अहिले ईलाका प्रहरी कार्यालयको हिरासत कक्षमा ७५ जना पुरुष र ६ जना महिला राखिएको छ । वडा प्रहरी कार्यालय धरानमा पनि थुनुवा बढी रहेको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता ३ वटा कोठामा ३० जनाको हो तर पछिल्लो समय तीन वटा कोठामा ७५ जना थुनुवा राखिएको छ । थुनुवालाई व्यवस्थापन गर्न नै निकै समस्या भएको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए ।
ईलाका प्रहरी कार्यालय धरानमा पछिल्लो समय विभिन्न आपराधिक घटना वृद्धि सँगै बढी लागुऔषध कारोबारी पक्राउ परेको बताउँदै अहिले कहीँ कतैबाट मानिस पक्रेर ल्यायो भने हिरासत कक्षमा राख्ने अवस्था छैन । हिरासत कक्ष पुरै भरिएको छ । गर्मीमा निकै समस्या हुने गरेको बताउँदै थुनुवालाई तीन कोठामा ७५ जना राख्नु समस्या भएको डिएसपी श्रेष्ठले भने ।
ईलाका प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार हाल ४१ वटा मुद्दामा ७५ जना थुनुवालाई हिरासतमा राखिएको छ । हिरासत कक्षमा कर्तव्य ज्यानका ३ जना, लागुऔषध १२ जना, अभद्र व्यवहार १२ जना, ज्यान मार्ने उद्योगमा ७ जना, सवारी ज्यानमा १ जना, डाँका चोरीमा ८ जना, चोरी १० जना, जर्वजस्ती करणीमा १ जना, जर्वजस्ती करणी उद्योगमा १ जना, ठगीमा १ जना, बहुविवाहमा २ जना, फरार पक्राउ ३ जना र अनुसन्धानमा ४ जना गरी जम्मा ४१ मुद्दामा ७५ जना थुनुवालाई गर्मीमा कोचेर हिरासत भवनमा राख्नुपर्ने अवस्था सिर्जना भएको प्रमुख श्रेष्ठले बताए ।