धरानः सुनसरीको धरानस्थित प्रहरी कार्यालयले अपराध अनुसन्धानमा पछिल्लो दुई सातामा प्राप्त गरेको उपलब्धि सार्वजनिक गरेको छ ।
कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले जेठ ८ गते धरान १४, हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसको क्वार्टरमा बस्दै आएकी शान्ता सुवेदीको खुकुरी प्रहार गरी हत्या भएको घटनामा संलग्न मृतक शान्ताकै छोरा सौगात सुवेदीलाई पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार जेठ ३० गते पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएकी सुवेदीलाई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको ज्यान गएको डीएसपी श्रेष्ठले बताए ।
यसैगरी, जेठ १२ गते धरान ५ को देउरालीस्थित सुन्दर बस्तीनजिकै मृत फेला परेका धरान ११ विष्णुचोकका ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न १७ र १३ वर्षीय बालकहरुलाई नियन्त्रणमा लिई अदालतमा पेस गरिएकोमा सो मुद्दामा अदालतको निर्णय आउन बाँकी रहेको डीएसपी श्रेष्ठले बताए । यसैगरी, जेठ २१ धरान १० स्थित मुनाल चौकमा खाजा पसलमा खाजा खाइरहेका रामशरण केसीमाथि आक्रमण भएकोमा आक्रमणमा संलग्न धरान ५ का २४ वर्षीय सविन लिम्बूलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाहीका लागि अनुसन्धान जारी रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
यसैगरी, जेठ २ गते बिहान साढे ११ बजे धरान १९ स्थित सलुट गोर्खा ट्रेनिङमा तालिम लिदै आएका मोरङको कानेपोखरी गाउपालिका ७ घर भएका ललित सुनुवारमाथि भएको छुरा प्रहारको घटनामा संलग्न रिचर्ड तामाङ, मौषम लिम्बु र दुई जना नाबालकलाई समेत पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाहीका लागि अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।
यसैगरी, जेठ २८ गते बिहान १० बजे उदय सामुदायिक वनमा च्याउ खोज्न गएकी ५६ वर्षीया एक अपांगता भएकी महिलामाथि धरान १७ का ४२ वर्षीय श्यामकुमार धामीले बलात्कार गर्ने प्रयास गरेकोमा अभियुक्त धामीलाई पक्राउ गरी जबर्जजस्ती करणी उद्योग मुद्दामा कारबाहीका लागि अनुसन्धान जारी रहेको डीएसपी श्रेष्ठले उल्लेख गरे ।
यसैगरि, जेठ १२ गते धरान १६ जोरसखुवामा डेरा गरी बस्ने ३१ वर्षीय झड्केलो दाजुले नाबालिग १४ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योग कसुरमा कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठको भनाइ छ ।
यसैगरी, जेठ १५ गते धरान ६ पानवारीका हस्तबहादुर श्रेष्ठको घरबाट ६ फिटको ४० थान र ५ फिटको ७२ थान सखुवाको चिरान काठ चोरी भएको घटनामा संलग्न धरान ६ पानवारी बस्ने सुन्दर लिम्बु, भुवन सुयल, शिव मगर, विकास भन्ने भरत बलम्पाकी मगर, पदम बिसुंखे, विपिन लकान्द्री, विशाल कार्की र एक जना नाबालिगलाई चोरी भएको ६ फिटको १२ थान र ५ फिटको २६ थान चिरान काठसहित पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताए ।
यसैगरी, जेठ २० गते वीपी प्रतिष्ठानको ट्रपिकल वार्ड भवन छेउमा पार्किङ गरेको प्रदेश १–०२–०४६ प ९१०९ नम्वरको १५० सि.सि.को मोटरसाइकल र प्रदेश १–०१–०१५ प ३९३ नम्वरको मोटरसाइलक चोरी भएकोमा चोरीमा संलग्न धनकुटाको चौबिसे गाउपालिका वडा नं. ५ बोधेका (हाल धरान १५ वरगाछीमा डेरा गरि बस्ने० विजय भन्ने डिल्लिश्वर विश्वकर्मा र साँघुरीगढी गाउँपालिका ८ महाभारत घर भई हाल धरान ८ भोटेपुलमा डेरामा बस्ने अमर बराईली विश्वकर्माल तत्काल पक्राउ गरी चोरी कसुरमा अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताए ।
यसैगरि, जेठ ३० गते राती करिब सवा १ बजे वीपी प्रतिष्ठानको गाइनो वार्डमा पार्किङ गरि राखेको मोटरसाइकल को.२८ प ८९८९ को तार काटेर हेण्डल लक तोडेर चोरी गरी लैजादै गर्दा एक जना त्रफाउ परेका छन् । प्रहरीले धनकुटा सहिदभुमी गाउँपालिका २ का २० बर्षीय अश्विन राईलाई पक्राउ गरेको छ । उनलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।
यसैगरी, मोवाइल चोरीमा संलग्न धरान ११ मंगलबारे चोकका २० वर्षीय आशिष गुरुङ पक्राउ तथा जेठ ३१ गते धरान ५ देउरालीस्थित अभिकेशर विश्वकर्माको घरेलु हतियार निर्माण गर्ने आरनमा रहेको खुकुरी, गैती, काटा गैतीलगायत समान चोरीमा संलग्न वडा ५ का २२ वर्षीय म्याकिस लिम्बु, १९ वर्षीय भुपेन विक र २३ वर्षीय अर्जुन रसाइलीलाई समेत पक्राउ गरी चोरी मुद्दामा कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठले उल्लेख गरे । यसैगरी, चालु आर्थिक वर्षमा लागूऔषधसहित पक्राउ परेका ७५ जना अभियुक्तहरुमध्ये ती मध्ये ३६ जनालाई नियन्त्रित औषधिको कारोबार गरेको कसुरमा अनुसन्धानका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाएको डीएसपी श्रेष्ठले प्रष्ट पारे ।