धरानः सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि विकराल समस्याका रुपमा रहेको खानेपानीको अभाव चिर्न नवनिर्वाचित मेयर हर्क साम्पाङ कम्मर कसेर लागिपरेका छन् ।
उपमहानगरवासीलाई पर्याप्त खानेपानी उपलब्ध गराउनकै लागि मेयर साम्पाङको सक्रियतामा उपमहानगरकै २० नम्बर वडामा रहेको पकुवा खोलाको पानीलाई खानेपानीका रुपमा प्रयोग गर्ने सम्भाव्यता अध्ययन भएको छ । सो खोलाको पानीबाट ११ नम्बर वडाका स्थानीयलाई खानेपानी उपलब्ध गराउन सकिने अनुसन्धान टोलीको रायपछि मेयर साम्पाङले हिजो (शनिबार) देखि सो परियोजनाको निर्माण सुरु गराएका छन् । निर्माण सुरु गराउन आयोजनास्थलमा पुगेका मेयर साम्पाङले परियोजनाको कार्यमा श्रमदान गर्दै निर्माण कार्य प्रारम्भ गरेका थिए । माटो खन्ने, ढुङ्गा बोक्ने र माटो फाल्ने काममा मेयर साम्पाङ नै प्रत्यक्ष संलग्न भएपछि त्यहाँ उपस्थित उनका समर्थक, शुभेच्छुक तथा स्थानीयवासीले पनि श्रमदानमा साथ दिएका थिए ।
श्रमदान दिनेहरुमा धरानका व्यवसायी तथा साइक्लिस्ट कुन्दन श्रेष्ठ, पर्यटनकर्मी रामप्रसाद राई तथा गायक तथा कलाकार भक्तिराज राईसमेत उपस्थित थिए । उनीहरुले धरानको विकासमा मेयर साम्पाङले देखाएको प्रतिबद्धता र लगनशीलताको सम्मानका लागि श्रमदानमा भाग लिएको प्रतिकृया दिए । निर्माणस्थलमै रहेका मेयर साम्पाङले पनि आयोजना निर्माणका लागि श्रमदान गर्न स्वतःस्फुर्त रुपमा उपस्थित भएका युवा जमातको समर्थन र साथप्रति खुसी व्यक्त गरे ।
उनले पकुवा खोलाबाट पानी थप गर्दा पम्प चलाउँदाको खर्च कम हुने भएकोले आयोजना निर्माण मितव्ययी र हितकारी रहेको बताए । ईञ्जिनियर प्रशान्त श्रेष्ठले मुहान क्षेत्रमा २ वटा टंकी निर्माणको काम भइरहेको बताउँदै त्यहाँबाट बर्खायाममा प्रशस्त पानी लैजान सकिने र त्यसले वडा नं ११ र १७ को लागि रेल्वे सिस्टमको भार कम हुने उल्लेख गरे ।