बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका ६ वडाले विगत ६ दिनदेखि बनाउन सुरु गरेको राष्ट्रिय परिचयपत्र प्रक्रिया चित्त नबुझेको भन्दै स्थानीयले कार्यालय तालाबन्दी गरेका छन् । बराहक्षेत्र ६ का टेक बहादुर घिमिरेको नेतृत्वमा गएको समूहले विभिन्न असन्तुष्टसहित १ घन्टा कार्यालय तालाबन्दी गरेको हो ।
आफूहरूले पटकपटक सचेत गराउँदा समेत जनप्रतिनिधि र कर्मचारीहरु सजग नभएको, टोकन बाढ्ने प्रक्रिया गलत भएको, कर्मचारीहरुको ढिलासुस्ती भएकोले तालाबन्दी गर्न बाध्य भएको घिमिरेले बताए । उनले भने, ‘पानी पनि खाएर बस्ने सर्वसाधारण जनता समय बर्बाद भयो तर पहुँचवालाको सहजै काम हुने गरेको देखेपछी बिहान ९ देखी १० बजेसम्म तालाबन्दी गर्यौं ।’
यसबाट जेष्ठ नागरिक तथा असक्तहरु प्रत्यक्ष मारमा परिरहेको पाइएको छ । सम्बन्धित वडाका अध्यक्ष उद्वब पोखरेल भन्छन्, ‘आज कारणबश १० बजेबाट टोकन वितरण हुनेपर्नेमा ९ बजेबाटै सुरु भएछ, त्यसले केहि साथीहरू असन्तुष्ट हुनुभएको हो ।’
उनले थपे, ‘भोलिदेखी समय र प्रक्रिया मिलाएर हामी काम अगाडि बढाउँछौ ।’ आजदेखी प्रक्रिया मिलाएर परिचयपत्र वितरणको कार्य थालनी गर्ने सर्तसहित जनप्रतिनिधि र असन्तुष्टि पक्षबीचमा सहमत भएपछि ताला खुलाइएको बताइएको छ ।