सेन्ट पिटर्सबर्गः युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विवेकहीन’ कदमको संज्ञा दिएका छन् ।

सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले अमेरिका तथा उसका सहयोगी युरोपेली मुलुकको चर्को आलोचना गरे । ‘सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनमिक फोरम’लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण (युरोपेली संघ) ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरेका हुन् ।

“रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन,” उनले भने । प्रतिबन्ध पत्युत्पादक भएको उनले दाबी गरे ।

पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेको समयमा पुटिनको उक्त भनाइ आएको हो ।

उक्त अवसरमा पुटिनले ईयूका २७ सदस्य राष्ट्रमा महँगी बढ्दै गएको र युरोपमा मानिसको वास्तविक चासोलाई पन्छाइएको बताए । -रासस