धरानः धरानको एक होटलमा आत्महत्याको प्रयास गरेकी २६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक डाक्टर पक्राउ परेका छन् ।
शुक्रबार प्रतिष्ठानमा कार्यरत वीरगन्ज महानगरपालिका–२३ का डा. करण यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले जानकारी दिए । महिलाले के कारणले आत्महत्या प्रयास गरेकी हुन भन्ने नखुलेको डीएसपी श्रेष्ठले बताए ।
उनले भने, ‘युवकले साथी भएकाले होटलमा राखेको बताएका छन् ।’ उनले आइतबार अदालतमा अनुमति लिएर कल डिटेल्स हेरेपछि धेरै कुरा खुल्ने बताए । बाराको कलैया माइती भएकी र रौतहटको पौरही–५ मा विवाह गरेकी २६ वर्षीया प्रकृति सुवेदी डा. यादवलाई भेट्न आएकी थिइन् ।
बिहीबार धरान–१० स्थित एक होटलमा तन्नाको पासो लगाएर आत्महत्या प्रयास गरेकी थिइन् । प्रयास गरिहरेको समयमा फेला परेपछि सुवेदीलाई तत्काल बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि भर्ना गरिएको थियो । आकस्मिक कक्षेको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएपछि अनुसन्धानका लागि डा. यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
डीएसपी श्रेष्ठका अनुसार चिकित्सक यादवले बोलाएपछि महिला धरान आएकी थिइन् । डा. यादव प्रतिष्ठानको मेडिकल अफिसरमा कार्यरत थिए । महिलाका लागि होटलको कोठा डा. यादवले नै बुक गरेका थिए । महिलाका ९ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ ।
उनका श्रीमानसँग सम्बन्धविच्छेदको प्रक्रिया अन्तिम चरणमा रहेको डीएसपी श्रेष्ठले बताए । मृतक सुवेदीका आफन्त धरान आइसकेका छन् । महिलाका आफन्तले दिएको जाहेरीका आधारमा आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चल्न सक्ने प्रहरीको भनाइ छ मृतक महिलाको पोस्टमार्टम रिपोर्ट आएपछि कारण खुल्ने प्रहरीले उल्लेख गरेको छ ।