धरानः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई लोकतान्त्रिक बाम गठबन्धनको राजनीतिक दलीय संयन्त्रले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा विभिन्न विषय समेट्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार दलीय संयन्त्रले मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघालाई २१ बुँदे ध्यानाकर्षण बुझाएको हो । नेपाली काङ्ग्रेसका आमन्त्रित जिल्ला सदस्य तथा दलीय संयन्त्रका संयोजक किशोर राई, जनता समाजवादी पार्टीका धरान अध्यक्ष तथा संयन्त्रका सदस्यसचिव ताजुव लिम्बू, काङ्गे्रसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा (एकीकृत समाजवादी) का धरान अध्यक्ष रेवतरमण राईलगायतका नेताहरुले ज्ञापनपत्र बुझाएको दलीय संयन्त्रका सदस्य रिकेश विश्वकर्माले जानकारी दिए ।
दलीय संयन्त्रले नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन, खानेपानीको विद्यमान उत्पादन र वितरण प्रणालीलाई सुधार गर्ने श्रोतको पहिचान र संरक्षणतका लागि दीर्घकालीन योजना चलाउन आवश्यक पर्याप्त बजेटको व्यवस्था गर्न माग गरेको छ । धरान ८ को निर्माणाधीन आधुनिक बसपार्कको निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक बजेट व्यवस्था गर्न, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सबै क्षेत्रमा भएको बेथिति–विसंगति अन्त्य गरी सेवा प्रवाहमा गुणस्तरीयता र प्रभावकारिता सुधारका लागि पनि संयन्त्रले ध्यानाकर्षण गराएको छ ।
छाताचौकस्थित पुरानो अस्पताल परिसरमा प्रतिष्ठानसँगको सहकार्यमा ल्याब र रेडियोलोजी सेवा सहितको जेनेरल ओ.पी.डी.सेवा सञ्चालनका लागि बजेटको व्यवस्था गर्न संयन्त्रले माग गरेको छ । यसैगरी, संयन्त्रले धरानका विभिन्न वडामा रहेको स्वास्थ्य चौकीहरुको स्तरोन्नति गरी प्रत्येक वडामा क्लिनिक सेवासमेत सञ्चालनमा ल्याई सबै नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउन माग गरेको छ ।
बिजुली, ढल, सडक, सामुदायिक भवन सहितको पूर्वाधार विकास गर्न र प्रायजसो बस्तीहरु सेउती, खहरे र सर्दू खोलाको किनारमा रहेकाले वर्षायाममा बाढीका कारण वर्षेनी बस्तीमा क्षति हुने र वर्षेनी तारजाली वितरण गर्नुपर्ने परम्परा रहंदै आएको हुंदा सेउती, खहरे र सर्दू खोलमा स्थायी तटबन्ध निर्माण गरी बस्तीको दिगो संरक्षण गर्न आवश्यक पर्ने बजेट व्यवस्था गर्न पनि संयन्त्रले माग गरेको छ ।
प्रत्येक वडामा खुला व्यायामस्थल तथा पार्क निर्माण गर्न र धरान २० मा प्रस्तावित बुढाहाङ पार्क र सुलिकोट पार्क निर्माणका लागिसमेत आवश्यक बजेट व्यवस्था गर्नुपर्ने माग पनि संयन्त्रले राखेको छ । गरीब, विपन्न परिवार र जोखिमयक्त पेसामा कार्यरत मजदुरहरुलाई निःशुल्क स्वास्थ्य बीमा र शिक्षाको व्यवस्था गर्नुपर्ने पनि संयन्त्रको माग छ । निर्माणाधीन बहुजातीय संग्रहालय समयमा नै सम्पन्न गर्न पनि संयन्त्रले माग गरेको छ ।
धरानलाई खेलकुदको शहर घोषणा गरी सोहीबमोजिम पर्याप्त बजेटको व्यवस्था गर्न, पर्यटनको विकासका लागि लामो समयदेखि रात्रिकालीन बजार सञ्चालनको सम्भाव्यता अध्ययन र पूर्वाधार निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न, शैक्षिक संस्थाहरुको स्तरोन्नति गर्न र शैक्षिक कार्यक्रमहरुमा धराने जनताका छोराछोरीहरुका लागि निश्चित कोटाको व्यवस्था गर्न ठोस नीति तथा कार्यक्रम तर्जुमा गर्न, जिल्ला ट्राफिक कार्यालय भवनको अभावमा इनरुवामा सर्ने तयारी भइरहेको हुँदा धरानमा सरकारी ऐलानी जग्गा उपलब्ध गराएर भएपनि भवन निर्माणका लागि केही बजेटको व्यवस्था गर्न, हाइटेन्सन लाइन प्राविधिक अध्ययन गरेर विस्तार गर्न पनि संयन्त्रले माग गरेको छ । सडक कालोपत्रे गर्नुपर्ने माग पनि संयन्त्रले गरेको छ ।
साहित्य, कला, सँस्कृति तथा संगीतको विकास, संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न, फोहोर व्यवस्थापन र वृक्षारोपणका लागि आवश्यक बजेट व्यवस्था गर्न, उचित करको व्यवस्था गर्न, दाहसँस्कारस्थल तथा समाधीस्थलहरुलाई थप सुविधासम्पन्न बनाउन, धरानमा सञ्चालित हुने ठूला तथा साना आयोजनाहरुका लागि आवश्यक सामग्री धरानमा नै खरिद गराउने नीति बनाउन, रोजगारीका अवसर सिर्जना गर्न ,निजी क्षेत्रमा कार्यरत शिक्षक, कर्मचारी तथा मजदुरको न्यूनतम् पारिश्रमिक र रोजगारको सुरक्षाको व्यवस्था गर्न र सहकारी संस्थाहरु समेतलाई डुब्न नदिन नियमित अनुगमन, निरीक्षण गर्न संयन्त्रले अनुरोध गरेको छ । जनताको पैसा सहकारीबाट फिर्ता गराउन विशेष पहल तथा सहकार्य गर्नसमेत संयन्त्रले माग गरेको छ ।