खोटाङ्ग (बाक्सिला)ःखोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिलामा प्रदेश एकको जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता भव्य रुपमा सुरु भएको छ ।
प्रदेश नम्बर १ खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा भएको प्रतियोगिताको उद्घाटन प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले गरेका छन् ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालन भएको प्रतियोगिताको उद्घाटन शत्रमा बोल्दै प्रदेश एकको तेक्वान्दो संघका अध्यक्ष शैलेशकुमार बिष्टले खेल क्षेत्रनै देशलाई विश्वमा चिनाउन सकिने क्षेत्र भएकाले यसमा लाग्न र लगानी गर्न हिच्किचाउन नहुने बताएका थिए ।
असारमा आयोजना गरिएको खेलकुद प्रतियोगिता बजेट सक्न नभई खेलाडीहरुलाई उर्जा भर्न र प्रदेश एकलाई खेलमय बनाउनका लागि भएको बिष्टले बताए ।
प्रदेश नम्बर एकको प्रदेश खेलकुद विकास बोर्डको सदस्य समेत रहेको बिष्टले खेल क्षेत्रमा सफलता प्राप्त गर्न सके नेपाललाई सबै कुरामा विकसित र अगाडी रहेको अमेरिकालाई समेत हराउन समेत खेलकुद नै एकमात्र क्षेत्र भएको समेत बताए ।
कार्यक्रममा मन्तव्य राख्दै खोटाङ्गको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले आफूले पनि खेलकुदका क्षेत्रमा भुमिका निर्वाह गर्न नहिच्किचाउने बताए । उनले आगामी बर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले खेलकुदलाई समेत समेट्ने बताउँदै जिल्लाका प्रदेश तथा राष्ट्रिय खेलमा सहभागि हुने गाउँपालिका भरीका खेलाडीलाई सम्मान समेत गर्ने घोषणा गरे । उनले खेलाडीको जिवन यापनका लागि समेत कार्यक्रम ल्याउनु पर्ने आवश्यकता औल्याएका थिए ।
कार्यक्रममा निवर्तमान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माइतीराज राईले सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आफ्नो कार्यकालमा गर्दा खोटाङ्गलाई राम्रो स्थितीमा देखाएको बताए । कार्यक्रमको उद्घाटन शत्रमा प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठ, प्रदेश १ तेक्वान्दो संघका उपाध्यक्ष लगायतका पदाधिकारी, प्रदेश एकको सामाजिक विकास मन्त्री राजन राईको सचिवालयका निजि सचिव, स्वकिय सचिव, बिभिन्न राजनितिक पार्टीका प्रतिनिधि, लगायतको उपस्थिती रहेको थियो ।
औपचारिक कार्यक्रमको सभापतित्व जिल्ला खेलकुद विकास समिति खोटाङ्गका अध्यक्ष सुमन राईको सभापतित्वमा सञ्चालन भएको थियो ।प्रदेश एकका १४ वटै जिल्लाका खेलाडीहरु सहभागी भएको प्रतियोगिता भोलि शनिवार सम्म चल्ने भएको छ ।