खोटाङ्ग(बाक्सिला)ःमार्सल आर्ट तेक्वान्दोमा महिला खोज्न कुनै समय नेपालका पहाडी जिल्ला चाहारेका तेक्वान्दोका पिता भनेर चिनिने दिपराज गुरुङ्ग शुक्रबार निकै खुशी देखिए ।
प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डको आयोजना जिल्ला खेलकुद विकास समितिका खोटाङ्गको संयोजनमा आयोजना भएको प्रदेश १को जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता उद्घाटनका अवसरमा आफ्नो मन्तव्य व्यक्त गर्दैै गुरुङ्गले आफ्नो खुशी प्रकट गरे ।
खेलमा महिला सहभागीता कम हुने गरेको बताउँदै तेक्वान्दोका पिता मानिएका नेपाल तेक्वान्दो संघका महासचिव समेत रहेका गुरुङ्गले कुनै बेला आफू तेक्वान्दोमा महिला खेलाडी खोज्दै पहाडी जिल्ला चाहारेको स्मरण समेत गर्न भ्याए ।
कुनै समय व्याण्ड भएको खेल तेक्वान्दोमा आजको पुस्ता खुलेर लागेको र मन्त्रीको समेत उपस्थितीमा तेक्वान्दो प्रतियोगिता हुँदा खुशी देखिएका गुरुङ्गले बाक्सिलाका स्थानीयले गरेको स्वागतको प्रशंसा गर्दै अनुशासनको छाप छोडेर जान खेलाडीहरुलाई आग्रह गरेका थिए ।
केपिलासगढी गाउँपालिकाका राजकुमार राईको प्रशंसा गर्दैै उनले नेपालको हिरोको संज्ञा दिएका थिए । अहिलेको प्रतियोगितामा छोरी चेलीको सहभागीता देखेर नेपालको खेलक्षेत्र बामे सरिरहेको प्रतिक्रिया गुरुङ्गले दिएका थिए ।
पहिले केन्द्रिकृतमा सिमित रहेको प्रतियोगिताहरु अहिले प्रदेश र स्थानीय तह समेतमा आएको बताउँदै दिपराजले नेपालको खेलकुद महङ्गो भएको भएपनि यसमा लगानी गर्यो भने राम्रो प्रतिफल दिने ठोकुवा गरे ।
खेलक्षेत्रको विकासलागि भौतिक संरचनाहरुको निर्माण भएदेखि अझ युवा तथा महिला खेलाडीहरु थपिने संकेत गुरुङ्गको थियो । गुरुङ्गले भने ‘धेरै खेलहरु इन्डोर खेल्न थालिएको छ, नेपालमा खेलकुदका लागि संरचना नहुँदा आगनमा खेल्नुपर्ने अवस्थाहरु छन् आगनमा खेल्न हाम्रा छोरी चेलीहर लजाउँछन् र वीचमै छाडिदिन्छन् ।’