खोटाङ्ग(बाक्सिला)ः प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले हरेक व्यक्तिले आफू जुन ठाउँमा क्रियाशिल भएर लागेको हो त्यही ठाउँमा योगदान गर्नुपर्ने बताए ।
आफ्नै जन्मथलो खोटाङ्ग जिल्लाको उत्तरी गाउँपालिका केपिलासगढीको बाक्सिलामा आइपुगेका मन्त्री राईले शुक्रबार यहाँ प्रदेश खेलकुद विकास बोर्डको आयोजना र जिल्ला खेलकुद विकास समिति खोटाङ्ग तेक्वान्दो संघको संयोजनमा भएको प्रदेश १ को जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै हरेकले आफू क्रियाशिल भएर लागेको क्षेत्रमा योगदान गर्नुपर्ने बताएका हुन् ।
खोटाङ्ग जिल्लाकै उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका विकट भएको स्वीकार्दै मन्त्री राईले खेलाडीले दुःख गरेर यो स्थानमा आएर प्रतियोगितामा भाग लिँदा केही पिडा भएता पनि बाक्सिलाले दिएको माया गाढा भएको बताए । ‘तपाईहरुले दिएको माया त ठिकै हो बाटो गाह्रो छ ।’ मन्त्री राईले भने ।
आज गरेको संघर्ष भोली सफलता प्राप्त गर्दा खेलाडीले सम्झन स्मरणयोग्य बनाउन सहयोग गर्ने बताउँदै मन्त्री राईले खेलाडीहरु शारिरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत सक्षम हुनुपर्ने बताए ।
प्रदेश १ का १४ वटै जिल्लाका २ सयको हाराहारीमा तेक्वान्दो खेलाडीहरु उपस्थित भएको प्रतियोगिताको उद्घाटन गर्दै खोटाङ्ग जिल्लाका प्रदेश सांसद समेत रहेका राईले खेलकुद मित्रता र त्यागको प्रतिक भएको हुँदा खेलमा अनुशासन देखाउन प्रतियोगी खेलाडीहरुलाई आग्रह गरेका थिए । खेलमा गरेको लगानी खेर नजाने बताउँदै प्रदेशका सामाजिक विकास मन्त्री राईले सरकारले आफ्नो गच्छे अनुसारको बजेट खेल क्षेत्रलाई छुटाएको समेत बताएका थिए । सोही कार्यक्रममा मन्त्री राईले कोपिलासगढी गाँउपालिकाका नव निर्वाचित अध्यक्ष समिर राईलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।