इटहरीः स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका पूर्ववरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मिति २०७३÷०६÷२१ मा रा.प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७७÷०४÷०१ मा स्वेच्छिक अवकाश लिएका भण्डारीले २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ नौ पैसा आय आर्जन गरेकोमा उनले गरेको खर्च भने ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ ५३ पैसा रहेको पाइएपछि विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार भण्डारीले आर्जन गरेको ६ करोड २४ लाख चार हजार ६ रुपैयाँ ४४ पैसाको स्रोत नखुलेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना माग गरी मुद्दा चलाइएको हो ।