इटहरीः प्रदेश १ का प्रमुख परशुराम खापुङले बिहीबार मनमोहन प्राविधिक विश्वविद्यालयको निरीक्षण गरेका छन् ।
प्रदेशप्रमुख खापुङले विश्वविद्यालयका उपकुलपति डा. सुबासश्री पोखरेलबाट विश्वविद्यालयको अवस्थाबारे जानकारी लिएका थिए । मनमोहन पोलिटेक्निकका रुपमा सञ्चालित व्यावसायिक तालिम प्रतिष्ठान २०७६ सालदेखि विश्वविद्यालयमा परिणत भएको हो ।
उपकुलपति डा. पोखरेलका अनुसार मेकानिकल इन्जिनियरिङलगायत धेरै प्राविधिक शिक्षा यस विश्वविद्यालयले दिँदै आएको छ । निरीक्षणपश्चात् प्रदेशप्रमुख खापुङले शिक्षा, स्वास्थ्य र कृषि देशको मेरुदण्ड रहेकोले मुलुकमा यस्ता शिक्षाको खाँचो रहेको बताए ।
सबैलाई दक्ष तथा शिक्षित तुल्याउने यस्ता खालका विश्वविद्यालयलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । मोरङको बूढीगङ्गा गाउँपालिका–४ मा रहेको यो विश्वविद्यालय २० बिघा क्षेत्रफलमा फैलिएको छ ।