इटहरीः ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा परी सासू–बुहारी बेपत्ता भएका छन् ।

गएराति ८ बजे घरको माथिबाट खसेको पहिरोमा परी सासू तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार तुलसाका छोरा एवम् यशोदाका पति विष्णु भने भागेर बाँच्न सफल भएका छन् ।

पहिराले अधिकारी परिवारको दुईवटा घर, गोठ तथा चौपाया बगाएको छ । पहिरोमा परी बेपत्ता भएका सासू–बुहारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । केही दिनदेखि ताप्लेजुङका विभिन्न ठाउँमा अत्यधिक वर्षा भइरहेको छ । वर्षासँगै पहिरो झर्ने क्रम बढेको छ । ठाउँठाउँमा ठुलठूला पहिरो झरेको प्रहरीको भनाइ छ ।