इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका १, पानीट्याङ्कीमा बहिनीले खुकुरी प्रहार गर्दा दिदी घाइते भएकी छन् ।

२९ वर्षीया सुमित्रा राईको खुकुरी प्रहारबाट ४० वर्षीया लक्ष्मी राई गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुुसार घाँटीमा गम्भीर चोट लागी घाइते भएकी लक्ष्मीलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ ।

सामान्य घरयासी विवादका कारण राति ९ बजेतिर सुमित्राले दिदीलाई खुकुरी हानेको डीएसपी गौतमले बताए । घटनाको जानकारी पाएलगत्तै परिचालित प्रहरीले आक्रमणमा संलग्न सुमित्रालाई खुकुरीसहित पक्राउ गरेको छ । पक्राउ परेकी अभियुक्त सुमित्राउपर ज्यान मार्ने उद्योग मुद्दामा कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । यता, घाइते लक्ष्मीको उपचारमा भने आर्थिक अभावले समस्या भएको प्रहरीको भनाइ छ ।