इटहरीः इटहरी रंगशालामा अधुरा रहेका काम पुरा गर्न र त्यसको रेखदेख गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले प्रदेश खेलकुद विकास बोर्डसँग समन्वय गरेर अगाडी बढ्ने भएको छ ।
प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डले सुनसरीको इटहरी रंगशालामा आयोजना गरेको जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको समापन खेलका लागि इटहरी आएका राखेपका सदस्य सचिव टंकलाल घिसिङ्गले इटहरी रंगशालाको निर्माणका बाँकी काममा राखेपले समन्वय गर्ने बताए ।
प्रदेश नम्बर १ फुटबलका लागि माथि उक्लिरहेको बताउँदै सदस्य सचिव घिसिङ्गले आगामी असोजमा हुन लागेको नवौँ खेलकुद प्रतियोगितामा प्रदेश १ लाई सकेसम्म धेरै खेलमा सहभागीता जनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा विशेष अतिथीको रुपमा रहेका प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले अब प्रदेश एकले एक घर एक खेलाडी र एक प्रशिक्षक एक मेडलको लक्ष्य सहित अगाडी बढेकाले अब प्रदेशलाई खेलकुदमय बनाउनमा आफुहरु लागि परेको बताए । आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको स्तर उकास्न आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्ने सदस्य सचिव वाग्लेले प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
प्रदेश एकका एघार जिल्लाको सहभागीतामा जेष्ठ २६ गतेबाट शुरु भएको जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको समापनमा क्रममा भलिबलका राष्ट्रिय खेलाडी भरत शाह, प्रदेश खेलकुद विकास बार्डका सदस्य सचिव शैलेश कुमार बिष्ट, रितेश श्रेष्ठ, इटहरी फुटबल क्लवका प्रतिनिधिहरु अनुरोध थापा, कोविदजंग कार्की, केशव कार्की, अन्तराष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ्ग साथै विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दिपक राईको सभापतित्वमा भएको खेलको स्वागत प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जीनाजंग कार्कीले गरेकी थिइन भने औपचारिक कार्यक्रमको संचालन युवराज काफ्लेले गरेका थिए ।