इटहरीः अनेरास्ववियूले इटहरीको जनता माध्यामिक विद्यालयले व्यवस्थापन समितिको चयन गर्दा दैध चरित्र देखाएको, नियुक्ति तथा भौतिक निर्माणमा समेत चरम लापरबाही गरेको भन्दै चासो व्यक्त गरेको छ ।
अनेरास्ववियू सुनसरी जिल्ला कार्यसमितीले सोमबार एक विज्ञप्ती जारी गर्दै विभिन्न ९ बुँदे माग राखि ७२ घण्टे अल्टिमेटम समेत दिएको छ ।
अनेरास्ववियूले अंग्रेजी माध्यम तथा गुणस्तरका नाममा विद्यालयले बार्षिक रुपमा उठाउँदै आएको १९ हजार ७५० रुपैयाँ प्रतिविद्यार्थी शुल्कको औचित्य पुष्टि गर्न, दिवा खाजामा अनियमितता भएको आशंका निवारण गर्न छानविन समितिको गठन गर्न, तीन बर्षदेखिको आय व्याय तथा सामाजिक लेखा परिक्षण सार्वजनिक गर्न माग गरेको छ ।
त्यसैगरी नमुना विद्यालयका लागि प्रदेश तथा संघीय सरकारबाट आएको बजेट र त्यसको खर्चको अवस्थालाई सार्वजनिक गर्नुपर्ने, पोषाक एंवम पुस्तक खरिदमा कमिशन चलखेल भएको भन्दै स्वतन्त्र छानविन हुनुपर्ने , नेपाली र अंग्रेजी विषयका विद्यार्थीहरु बीचको विभेद अन्त्य हुनुपर्ने, यातायात सुविधाको व्यवस्थापन समेत हुनुपर्ने माग अघि सारेका छन् ।
संगठनले विद्यालयले अभिभावक भेलामा फर्जी तथा किर्ते हस्ताक्षरको कुरा उठेको भन्दै हस्ताक्षर छानविन हुनुपर्ने , आफूखुशी कर्मचारी र शिषक नियुत्तिको छानविन गरी स्वतन्त्र पदपुर्ति समिति गठन हुनुपर्ने र ऐन विपरित निर्माण भएको व्यवस्थापन समिति निशर्त विघटन गरी कानुन बमोजिम नयाँ प्रकृया शुरु गरिनुपर्ने माग विद्यालय, इटहरी उपमहानगरको शिक्षा महाशाखा र शिक्षा समिति समक्ष राखेका छन् ।
७२ घण्टाभित्र सम्बन्धित पक्षले उचित कदम नचालेमा आफूहरुले कडा कदम चाल्ने अनेरास्ववियूको भनाई छ । कुन कदम चाल्ने भन्ने भने विज्ञप्तीमा खुलाइएको छैन । संगठनका सुनसरी अध्यक्ष अतितकिरण नेपाल र सचिव आशिष प्रद्यानद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती शिक्षा महाशाखा इटहरी उपमहानगरपालिका, शिक्षा समिति इटहरी र जनता माविका प्रधानाध्यापकलाई बोधार्थ गरिएको छ ।