धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघा सोमबार बिहान इन्जिनियर सहितको प्राविधिक टोली लिएर सेरा र सर्दु खोलाको अनुगमनमा पुगेका छन् । इन्जिनियर सहितको टोली लिएर उनिहरु धरान ६ को सेरा र धरान ११ को सर्दु खोला पुगेका हुन् ।
आइतबार कार्यपालिका बैठकमा धरान उपमहानगरपालिकाको वडा नं ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले सेरा खोलामा ढुंगा गिट्टी थुप्रिदै गएर जमिनको सतह बराबर भएकोले खोलालाई तत्काल बीचमा च्यानलिङ नगरे जग्गा र वस्ती कटानको उच्च जोखिममा भएको कुरा उठाएका थिए ।
उनको कुराको सुनुवाई गर्दै मेयर हर्कराज साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघा भोलिपल्टै (सोमबार) बिहान ८ बजे स्थलगत अनुगमनमा आउने प्रतिवेद्धता जनाएका थिए । आफ्नो प्रतिवद्धता अनुसार नै आज बिहानै ८ बजे उनिहरु दुवै जना उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठ र योजना शाखाका किरण भुजेलसहित सेरा र सर्दु खोला पुगेका थिए ।
मेयर साम्पाङले खोलामा पुगेर स्थलगतरुपमा कटानको जोखिम क्षेत्र अनुगमन गरेका थिए भने स्थानीयको जग्गा र वस्ती जोगाउनेबारे इञ्जिनियर श्रेष्ठसँग तत्कालै राय पनि मागेका थिए । उनले स्थानीयबासीहरुको पनि समस्या र धारणा बुझेका थिए । वडाध्यक्ष भट्टराईसँगै स्थानीयले खोला धेरै चौडाई भएर बग्ने भएकोले ठेक्का नलगाए पनि बीचमा च्यानलिङ गरेर बगाउन सके क्षति नहुने धारणा राखेका थिए ।
वडाध्यक्षले च्यानलिङ गर्दा कटान रोकिने, च्यानलिङ गर्दा निस्किएको मिक्स गिट्टीलाई वडाको बाटोमा सदुपयोग पनि गर्न सकिने भएकोले बर्षा शुरु हुनुअघि नै काम गर्न मेयरलाई आग्रह गरेका थिए । मेयरले पनि स्थलगत अनुगमन पश्चात यो बिषयमा चाडै प्रक्रियागतरुपमा निर्णय गरेर काम अघि बढाउने प्रतिक्रिया दिए । साथै, मेयरलाई वडाअध्यक्ष र स्थानीयले जीर्ण सडकको अवलोकन पनि गराएर निर्माणको लागि बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।