इटहरीः मोरङ्गको मोतीराम स्पोर्टिङ्ग क्लव इटहरी रंगशालामा भइरहेको प्रदेश एकको जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीको धरान फुटबल क्लवलाई ० को विरुद्ध २ गोलले पराजित गर्दै  मोतीराम स्पोर्टिङ्ग क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा कुनै पनि समूहले गोल गर्न सकेका थिएनन् भने अशोक खवासको कप्तानीमा खेलिरहेको मोतीराम स्पोर्टिङ्ग क्लब मोरङ्गले खेलको दोस्रो हाफको १८ औँ मिनेट र १९ औँ मिनेटमा लगातार २ गोल गरेपछि धरान फुटबल क्लब दवावमा परेको थियो तर धरानको प्रहारलाई गोलमा परिणत हुन नदिँदा मोरङ्गले सहजै जित निकाल्न सफल भयो ।

प्रतियोगितामा खेलको १८ औँ मिनेटमा मोतीरामका जर्सी नम्बर १३ का खेलाडी उमेश कार्कीले १ गोल गरेपछि त्यसको ठिक एक मिनेट मै मोतीरामकै जर्सी नम्बर १५ का खेलाडी अभिषेक लिम्बूले अर्को गोल गर्न सफल भए ।

IMG_1258

प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ को आयोजना तथा इटहरी फुटबल क्लबको संयोजनमा भइरहेको खेलमा वाई पाएर सिधै क्वाटर फाइनल खेलेको धरान फुटबल क्लबले संखुवासभाको खाँदवारी फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरको थियो ।

सोमबारको खेलमा मोतीराम स्पोर्टिङ्ग क्लब मोरङ्गका खेलाडी उमेश कार्की म्यान अफ द म्याच घोषित भए । कार्कीलाई २ हजार १ सयको नगद पुरस्कार इटहरी उपमहानगरको वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाले प्रदान गरेका थिए ।

प्रतियोगितामा भोलीको दोस्रो अर्थात अन्तिम सेमिफाइनल खेल देउराली फुटबल क्लब धनकुटा र शनिश्चरे फुटबल क्लब झापा बीच हुने आयोजक इटहरी फुटबल क्लबका अध्यक्ष केशब कार्कीले बताएका छन् । प्रतियोगिताको फाइनल खेल बुधबार हुने छ । फाइनल खेलमा चर्चित गायिका ज्योति मगरको बिषेश प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
विजेता समूहले नगद २ लाख र उपविजेता समूहले १ लाख नगद मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता भरीका संयोजक कोविदजंग कार्कीले जानकारी दिए ।